२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

केपी ओलीले अध्यक्ष पद छोड्न सक्ने, प्रधानमन्त्री नछोड्ने

२०७७ श्रावण ८, बिहिबार प्रकाशित ( साल अघि) २६५० पाठक संख्या

पछिल्लो समय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको शक्ति संघर्षमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले केही लचक हुने संकेत देखाएका छन् ।



विशेषगरि शुक्रबार दिउँसो बस्ने भनिएको नेकपा स्थायी कमिटी बैठकलाई स्थगित गरेपछि ओली केही हच्किएको र एक स्टेप ब्याक भएको टिप्पणी नेकपाका नेताहरुले नै गर्न थालेका छन् । यसको एउटा कारण हो, प्रधानमन्त्री ओलीले नेकपा केन्द्रीय कमिटीको बैठक बोलाउन आनाकानी गर्नु ।

केही दिन यता ओलीइतर समूहले नेकपामा केन्द्रीय कमिटी बैठक बोलाउनै पर्ने धारणा राख्न थालेका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा भइरहेका बैठकमा पनि नेताहरुले केन्द्रीय कमिटी बैठक बोलाउनु नै अबको विकल्प भएको निष्कर्ष निकालेका छन् । उनीहरुले निकालेको निष्कर्षबारे ओलीसँग पनि प्रचण्ड र नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले सल्लाह गरिसकेका थिए ।

शुक्रबार नै तय भएको स्थायी कमिटी बैठकमा नै यो अजेन्डा पनि समावेश गर्ने तयारी प्रचण्ड समूहको थियो । तर, शुक्रबार एकै दिन दुई पटक स्थायी कमिटी बैठक सारियो । अब आइतबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पनि हुने या नहुने भन्ने निश्चित भइसकेको छ ।

तर, प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग गरिरहेको प्रचण्ड–नेपाल समूहले आफ्नो मागबाट पछाडि नहट्ने संकेत देखाइसकेको छ । यही दबाबका कारण ओलीले अहिले केन्द्रीय कमिटी बैठक बोलाउन आनाकानी गरेको हुनसक्ने आशंका नेकपाका एक स्थायी कमिटी सदस्यले गरेका छन् ।

शुक्रबार फरकधारसँग कुराकानी गर्दै नेकपा स्थायी कमिटीका ती सदस्यले भने, ‘अहिले स्थायी कमिटी बैठकमा पनि आफ्ना कुरामा डिफेन्ड गर्न नसकेका ओलीले भोलि केन्द्रीय कमिटी बैठकमा पनि आफूलाई बचाउन नसकिने अनुमान गरिसकेका छन् । त्यही कारण पनि उनी अहिले नै केन्द्रीय कमिटी बैठक बोलाउने पक्षमा पुगेका छैनन् ।’

अर्कोतिर, ओली केही दिन यता आफ्नो समूहका विभिन्न नेताहरुसँग बारम्बार छलफलमा जुटिरहेका छन् । बिहीबार मात्र ओलीले बालुवाटारमा आफूनिकट नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवालीलगायत नेताहरुसँग छलफल गरेका थिए । यी नेताहरुले पनि ओलीलाई अहिले तत्काल केन्द्रीय कमिटी बैठक बोलाउँदा आफूहरु झन् समस्यामा पर्न सक्ने बताएका थिए ।

यो बैठकबारे जानकार ओलीनिकट एक नेताले यही बैठकबाट ओलीको आगामि रोडम्याप तयार भएको पनि फरकधारसँग बताएका छन् । उनका अनुसार शनिबार बोलाइएको सचिवालय बैठकमा ओलीले आफ्ना कुरा स्पष्ट राख्न सक्ने सम्भावना रहेको छ ।

ओलीले राख्ने भनेको त्यो स्पष्ट कुरा के हो त ?

हामीले ठ्याक्कै यही प्रश्न ती नेतासँग गरेका थियौँ ।

जवाफमा उनले भने, ‘अहिले अर्को समूहले जसरी ओलीसँग एकोहोरो दुवै पद छोड्न माग राखिरहेको छ, ओली त्यसका लागि तयार छैनन् । तर, पार्टीलाई एक ढिक्का बनाएर अगाडि लैजाने र आफूले देखेको समृद्ध देशको सपनालाई पनि पूरा गर्ने उहाँको चाहना छ । त्यसैले उहाँले अध्यक्ष पद छोडेर सरकारको नेतृत्व मात्र आफूले गर्छु भन्ने कुरा बैठकमा राख्न सक्नुहुन्छ ।’

अहिलेको अवस्थामा पार्टी नेतृत्व छोड्दा पनि आफ्नो धार कायम रहने तर सरकारको नेतृत्व छोड्दा आफ्नो शक्ति गुम्न सक्ने विश्लेषण ओलीनिकट नेताहरुको छ । यही कारण प्रधानमन्त्री केपी शर्मा ओलीलाई उनीहरुले अध्यक्ष पद बरु छोड्दा हुने सल्लाह दिन थालेका छन् ।

नेकपा स्थायी कमिटी सदस्यहरुमा अधिकांशले ओलीले दुवै पदबाट राजीनामा दिनु पर्ने माग राखेका छन् । शनिबारको सचिवालय बैठकमा ओलीले यसमा आफू कम्प्रोमाइज गर्न तयार नभएको सन्देश पनि दिनसक्ने अनुमान छ । तर, आफूइतर समूहले लगातार दुवै पदबाट राजीनामा दिनु पर्ने माग राखेमा अध्यक्ष पद छोड्न ओली तयार भइसकेको उनीनिकट ती नेताले बताए ।

‘त्यागका लागि पनि उहाँ तयार हुनुहुन्छ,’ उनले भने, ‘देश र पार्टीका लागि राम्रो हुने हो भने ओलीले पदबाट राजीनामा दिनुलाई ठूलो इस्यु बनाउनु हुने पक्कै छैन ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस