२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीको गण्डक जलविद्युत् केन्द्र पुनः सञ्चालन

२०७५ पौष ९, सोमबार प्रकाशित ( साल अघि) १००३ पाठक संख्या

नवलपरासी, पुस ९ –

विगत दुई महिनादेखि विद्युत् उत्पादन बन्द भएको पश्चिम नवलपरासीको सूर्यपुरामा रहेको गण्डक जलविद्युत् केन्द्रमा पुनः विद्युत् उत्पादन शुरु भएको छ । गण्डक नहरमा आवश्यकताअनुसार पानी नहुँदा  उत्पादन बन्द हुन पुगेको विद्युत् उत्पादन गृहको नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको गृहले जनाएको छ ।

नहरको सरसफाइ र मर्मतसम्भार गर्ने गरी कात्तिक ६ गतेदेखि भारतीय गण्डक नहरमा पानी बन्द गरिएपछि विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुन पुगेको थियो । यद्यपि अहिले नहरमा पानी आएपछि पुनः विद्युत् उत्पादन शुरु भएको छ । अहिले करीब प्रतिदिन ३।५ देखि चार युनिटसम्म विद्युत् उत्पादन हुने गरेको छ।

विद्युत् उत्पादन गृहको स्थापनाकालमा तीन वटा टवाईन जडित गरी दैनिक १५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको भए पनि विगत दश वर्षदेखि दुई वटा टवाईन पूर्णरूपमा बिग्रिएर थन्किएका छन् । नहरमा आवश्यकताअनुसार पानी भएको अवस्थामा लामो समयदेखि एउटा मात्र टवाईन सञ्चालनमा आउने हुँदा क्षमताभन्दा निकै कम करीब ३.५ देखि चार मेगावाट मात्र विद्युत् उत्पादन हुने गर्दछ । भारतीय पक्षले प्रत्येक वर्ष एक पटक गण्डक नहरको मर्मतसम्भार र सरसफाइ गर्ने भनेर करीब दुई महीनाका लागि नहरमा पानी बन्द गर्ने गर्दछ । सो अवधिभर विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादन बन्द हुने निश्चित छ । विद्युत् उत्पादन गृहमा विद्युत् उत्पादनका लागि कम्तीमा पनि चार हजार क्युसेक पानी आवश्यक पर्दछ ।  नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारको सहयोगमा तयार गरिएको विद्युत् उत्पादन गृहलाई २०३६ सालमा भारतले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।  रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस