२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

भारततर्फ भन्सार नहुँदा मौलायो अवैध कारोवार

२०७७ श्रावण ५, सोमबार प्रकाशित ( साल अघि) १११२ पाठक संख्या

इलाम ,५ साउन/ रासस

भारततर्फ निकासी–पैठारीको चेकपोष्ट नहुँदा यहाँको सूर्योदय नगरपालिकास्थित पशुपतिनगरबाट अवैध तरिकाले सामान भित्रिने गरेको छ । नेपालतर्फ भन्सार भए पनि भारततर्फ भन्सारको चेकपोष्ट नहुँदा नेपालतर्फ सामग्री भित्र्याउँदा भन्सार महसुल तिर्न नसकिएकाले नेपालतर्फ अवैध तरिकाले सामग्री भित्रिने गरेको पाइएको छ ।

भारतीय सीमा क्षेत्रमा पशुपतिनगर बजार क्षेत्र भएकाले सीमावर्ती नेपालीको सरसामान किन्न जाने ठाउँ हो तर सीमामा चेकपोष्ट नहुँदा अवैध तवरले सामग्री आउने गरेको पशुपतिनगर भन्सार प्रमुख गजेन्द्र भट्टराई बताउनुहुन्छ । नेपाल भित्रिएको सामानको रसिद बनाइदिने भन्दा पनि कतिपय भने हतोत्साहित भएर कार्यालयमा दर्ता नै नगर्ने गरेको कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।

“भारततर्फबाट अवैधरूपमै ल्याए पनि हाम्रोमा दर्ता गरेर लैजानुहोस्भन्दा पनि उहाँहरू मान्नुहुन्न”, भट्टराईले भन्नुभयो, “उतापट्टि भन्सार नहुँदा अवैध सामग्री आएको हो ।

खुलेनन् छोटी भन्सार

सशस्त्र द्वन्द्वका समयमा विस्थापित इलामका चार वटा छोटी भन्सार कार्यालय अझै पुनःस्थापना हुन सकेका छैनन् । असुरक्षाको कारण देखाउँदै विस्थापित बनेका छोटी भन्सार कार्यालय पुनःस्थापित नहुँदा राजस्व सङ्कलन प्रभावित भएको छ । विस्थापित ती कार्यालय पुनःस्थापना नहुँदा खुला सिमानाको फाइदा उठाउँदै सीमावर्ती क्षेत्रमा तस्करी भइरहेको छ ।

इलामको हिले, बन्दुकेलगायतका भन्सार अझै स्थापित भएका छैनन् । विस्थापित कार्यालयमध्ये अहिले छब्बिसे, मानेभन्ज्याङ र तुम्लिङ पुनःस्थापित भएका छन् । कोरोना महामारीका कारण बन्दाबन्दी भएपछि नेपाल–भारत सीमामा रहेको पशुपतिनगर नाका प्रभावित भएको छ । कोरोनाका कारण सीमा अवरुद्ध भएपछि भन्सारको राजस्वमा कमी आएको छ ।

कोरोनाको असर भन्सारमा

विगतका वर्षहरूमा लक्ष्यभन्दा माथि राजस्व सङ्कलन गर्ने यस भन्सारले गत आर्थिक वर्ष २०७६/०७७ मा भने लक्ष्यभन्दा २४ प्रतिशत कम मात्र राजस्व सङ्कलन गरेको छ । भन्सार प्रमुख भट्टराईका अनुसार भन्सार महसुलअन्तर्गत आर्थिक वर्ष २०७६/०७७ मा एक करोड ८९ लाख ९४ हजार लक्ष्य रहेकोमा रु एक करोड ४४ लाख ३४ हजार ३०१ मात्र सङ्कलन भएको छ । अनुमति लिएर नेपालका सीमा वरपरका क्षेत्र घुम्न आउने सवारीबाट भन्सार महसुलअन्तर्गत रु एक करोड १९ लाख ५६ हजार ८०५ लिइएको छ ।

भन्सारबाट भित्रिने सामग्रीको मूल्य अभिवृद्धि कर(मुअक) बाट रु १४ लाख ८० हजार ८५०, कृषि अग्रिम आय करबाट रु २४ हजार ४०० राजस्व सङ्कलन भएको छ । भन्सारमा अन्य प्रशासनिक शुल्कबाट रु दुई लाख २२ हजार, प्रशासनिक दण्ड जरिवानाबाट रु सात लाख १३ हजार ९९२ सङ्कलन भएको छ । कार्यालय प्रमुख भट्टराईले कोरोना महामारी नआएको भए गएका वर्षहरूमा जस्तै यस वर्ष पनि लक्ष्यअनुसारकै राजस्व उठ्ने बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस