२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि अष्ट्रेलियाको भिसामा परिवर्तन

२०७७ श्रावण ६, मंगलबार प्रकाशित ( साल अघि) १२१७ पाठक संख्या

ताज्मानिया । अष्ट्रेलियाको सरकारले देशभित्र र बाहिर भएका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई लक्षित गरी भिसासम्बन्धी केही नियमहरुमा परिवर्तन गरेको छ ।

कोभिड-१९ महामारीका कारण अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको गिरावटले शैक्षिक क्षेत्र धराशायी हुन सक्ने भन्दै अष्ट्रेलियाले भिसासम्बन्धी पाँचवटा नियमहरुमा परिवर्तन गरेको हो ।

महामारीका कारण धरमराउँदै गएको अष्ट्रेलियाको शैक्षिक क्षेत्रलाई पुनर्जीवन दिन र अस्टेलियालाई अन्तर्राष्ट्रिय विद्यार्थीहरुको प्रमुख गन्तव्यका रुपमा कायम गरिराख्न नयाँ नियमहरु परिवर्तन गरेको आप्रवासनमन्त्री अलान टुजले बताए ।

अन्तर्राष्ट्रिय विद्यार्थीहरुले अष्ट्रेलियाको अर्थतन्त्रमा करिब वार्षिक ४० अर्ब डलरको योगदान गर्ने गर्दछन् । अन्तर्राष्ट्रिय विद्यार्थीहरुको संख्यामा आएको कमीका कारण गत ५ महिना अवधिभर अष्ट्रेलियाका विश्वविद्यालयहरुले करिब १६ अर्ब अष्ट्रेलियन डलरको घाटा व्यहोरेको बताएका थिए ।

सोमबार ल्याइएको नयाँ नियमअनुसार अष्ट्रेलिया बाहिरबाट विद्यार्थी भिसा आवेदन गर्नेहरुलाई भिसा दिने प्रकृया पुन सुरु गरिने छ । महामारीका कारण विगत केही महिनादेखि भिसा दिने प्रकृया रोकिएको थियो । यद्यपि महामारीका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द भएकोले कहिलेदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरु अष्ट्रेलिया प्रवेश गर्न पाउँछन् भन्ने विषयमा भने टुज केही बोलेनन् ।

त्यसैगरी, परिवतर्न गरिएको नयाँ नियमअनुसार महामारीका कारण अध्ययन पुरा नभई विद्यार्थी भिसा अवधि सकिएकाले पुन: विद्यार्थी भिसाका लागि आवेदन दिँदा शुल्क लाग्ने छैन । यसले महामारीका कारण आर्थिक संकटमा परेका अन्तर्राष्ट्रिय विद्यार्थीहरुलाई भिसा अवधि थप्न केही राहत हुने जानकारहरु बताउँछन् ।

साथै, नयाँ नियमअनुसार अष्ट्रेलिया बाहिरबाट अनलाइनमार्फत अध्ययन गरेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु अध्ययन सकिएपश्चात पाइने पोष्ट स्टडी वर्क भिसाका लागि योग्य हुनेछन् । यसभन्दा अगाडि पोष्ट स्टडी भिसाका आवेदनका लागि अनिवार्यरुपमा कलेज गएको, शिक्षालयमा भौतिक उपस्थिति भएको जस्ता प्रकृया पुरा गर्नु पर्दथ्यो ।

यो नयाँ नियमअनुसार महामारीका कारण अंग्रेजी भाषा परीक्षाको नतिजा प्रभावित भएकाहरुका लागि थप समय दिइनेछ । यकिन तथ्यांक नभए पनि महामारीका कारण नेपालमा एक हजारभन्दा बढी अष्ट्रेलियाको भिसा पाइसकेका विद्यार्थीहरु अष्ट्रेलिया आउनबाट बञ्चित छन् भने उल्लेख्य संख्याका विद्यार्थीहरु महिनौं देखि भिसा कुरेर बसिरहेका छन् ।

यी नियममा परिवर्तन गरेसँगै नेपालमा अष्ट्रेलियाको भिसा कुरेर बसेका विद्यार्थीहरुले आफ्नो भिसाको विषयमा निर्णय पाउने र भिसा हुँदाहुँदै अष्ट्रेलिया प्रवेश गर्न नपाएका विद्यार्थीहरुको अन्योलता केही हदसम्म सहज हुने सिड्नीस्थित नेपाली समुदायका अग्रजहरुको विश्वास छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस