२०८१ मंसिर १८, मंगलबार
नयाँ
पछिला अपडेट

देशको राजधानीमै आइसियू र भेन्टिलेटरको अभाव

२०७७ भाद्र ५, शुक्रबार प्रकाशित ( साल अघि) ५९८९ पाठक संख्या

काठमाडौं, ५ भदौं । संक्रमितको संख्या धमाधम बढेपछि देशभर आइसोलेसन शैंयाको अभाव हुने चिन्ता सुरु भएको छ ।

यद्यपि सरकारले केही दिनयता एक हजारभन्दा बढी आइसोलेसन शैंया थपे पनि अझै पर्याप्त भएको छैन । चैतदेखि लकडाउन गरेर कोरोना नियन्त्रणको उपाय खोजेको सरकारले जोखिम बढेपछि बल्ल आइसोलेसन शैंया थप्ने तत्परता देखाएको छ । संघीयबाहेक प्रदेश र स्थानीय सरकारको पनि अवस्था उस्तै छ ।

पछिल्लो तथ्यांकअनुसार अहिले देशभर १५ हजार आठ सय १० शैंया छन् । आठ हजार ८३ जना संक्रमित विभिन्न अस्पतालको आइसोलेसनमा छन् । तीन हजार चार सय ७२ जना संक्रमित घरमै छन् । अस्पतालहरूमा आइसोलेसन शैंयाको अभाव संक्रमितका लागि मात्रै होइन, सरकारका लागि चिन्ताको विषय छ । त्यसैले सरकार आफैँले ८० प्रतिशत संक्रमितमा लक्षण नदेखिने हुँदा घरमै सुरक्षित बस्न अनुरोध गरेको छ ।

प्रदेशगत रूपमा हेर्दा प्रदेश– १ मा पाँच सय सात, प्रदेश– २ मा दुई हजार नौ सय सात, बागमती प्रदेशमा तीन हजार तीन सय ४१, गण्डकी प्रदेशमा दुई हजार आठ सय ५२, प्रदेश– ५ मा चार हजार चार सय ६५, कर्णाली प्रदेशमा एक हजार चार सय २८ र सुदूरपश्चिम प्रदेशमा तीन सय १० आइसोलेसन शय्या छन् । प्रदेशगत तथ्यांकले सबैभन्दा बढी आइसोलेसन शैंया संघीय राजधानी समेत रहेको बागमतीमा र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा छन् ।

सरकारले पछिल्लो एक सातामा उपत्यकामा एक हजार तीन सय ५० आइसोलेसन शैंया थपेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा यी आइसोलेसन शैंया थप भएका छन् ।

मन्त्रालयका अनुसार कीर्तिपुर आयुर्वेद केन्द्रमा तीन सय, खरिपाटी तालिम केन्द्रमा तीन सय, मनमोहन अस्पतालमा तीन सय, नेपाल मेडिकल कलेज जोरपाटीमा एक सय, काठमाडौं मेडिकल कलेज दुवाकोटमा दुई सय ५०, यती अस्पताल कलंकीमा ५० र वयोधा अस्पतालमा ५० आइसोलेसन शैंया थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार प्रदेशबाट सबै तथ्यांक संघमा उपलब्ध भएको छैन । ‘उनीहरूले पनि केही संख्यामा थप गरेका छन्, तर हामीलाई उपलब्ध गराएका छैनन्,’ उनले भने । पछिल्लो समय संघ, प्रदेश र स्थानीय तहबीचमा समन्वय अभाव छ ।

स्वास्थ्य मन्त्रालयबाहेक उपत्यकामा तीन महानगरपालिकाले पनि एक हजार आइसोलेसन शैंया व्यवस्थापन गर्ने तयारीमा छन् । यसबाहेक प्रदेश १ ले चार सय ५०, प्रदेश २ ले पाँच सय, प्रदेश ५ ले दुई सय, बागमती प्रदेशले एक हजार दुई सय ८५ आइसोलेसन शय्या थप गर्न लागेका छन् ।

स्वास्थ्य मन्त्रालयले निजी अस्पताललाई पनि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको छ । पटक–पटकको मौखिक निर्देशन नमानेपछि मन्त्रालयले लिखित रूपमै निर्देशन दिएको छ ।

मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीका अनुसार निजी अस्पतालले अटेर गरेपछि बाध्यकारी बनाउन यस्तो निर्णय गरिएको हो । ‘यो निर्णले जसरी पनि छुट्याउनु पर्छ भन्ने सन्देश उनीहरूमा गएको हुनुपर्छ,’ उनले भने ।

मन्त्रालयले सांकेतिक रूपमा निजी अस्पताललाई मर्ज हुन समेत यो निर्णय गरेको हो । ‘उनीहरूले दुई वा दुई भन्दा बढी अस्पताल मिलेर कुनै एक अस्पताल खाली गराएर कुल शैंयाको २० प्रतिशत आइसोलेसन उपलब्ध गराउन पनि सक्छन्,’ अधिकारीले भने ।

स्वास्थ्य मन्त्रालयले एक हजार आठ सय आठ शैंया आइसियूमध्ये नौ सय ८४ कोभिडका लागि छुट्याएको छ । त्यस्तै देशभर एक हजार ७० भेन्टिलेटर भएकोमा चार सय ९० कोभिडका लागि छुट्याएको छ । आइसियू र भेन्टिलेटर अभाव भएको बताए पनि सरकारले खरिद गरेको छैन । विभिन्न संघसंस्थाले ८० वटा भेन्टिलेटर दान दिएका छन् ।

देशभर एक सय २९ जना आइसियूमा र सातजना भेन्टिलेटरमा छन् । यो संख्या क्रमिक रूपमा बढ्दै गएको तथ्यांकले देखाएको छ । यसैबीच विगत २४ घन्टामा सात सय सातजना नयाँ संक्रमित थपिएका छन् भने ६ जनाको मृत्यु भएको छ । २४ घन्टामा ११ हजार आठ सय ३२ वटा नमुना परीक्षण गरिएको छ । मन्त्रालयका अनुसार अहिलेसम्म १७ हजार नौ सय ६४ संक्रमित निको भएका छन् ।

बिहीबार मृत्यु हुनेमा पर्सामा एक महिलासहित तीनजना, काठमाडौंमा एक महिला र मकवानपुर र सप्तरीमा एक–एकजना पुरुष छन् । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय २६ पुगेको छ । देशभर क्वारेन्टाइनमा बस्नेको संख्या ११ हजार सात सय ६८ छ ।

काठमाडौंमा ६ देखि १० हजार आइसोलेसन बेड बनाउने निर्णय

काठमाडौं उपत्यकामा कोरोनाको संक्रमण बढ्दै गएपछि बिहिबार बसेको मन्त्रीपरिषद् बैठकले ६ देखि १० हजार आइसोलेसन बेड थप्ने निर्णय गरेको छ । ‘काठमाडौंका निजी तथा सामुदायिक अस्पताल तथा अन्य विभिन्न सार्वजनिक भवनसमेतमा आइसोलेसन बेड थप्ने निर्णय भएको एक मन्त्रीले बताए ।

‘त्यसका साथै उपत्यकाभित्र उपचार उपकरण तथा औषधिको पर्याप्त व्यवस्थापन गर्ने निर्णय भएको छ,’ ती मन्त्रीले भने, ‘विभिन्न माध्यमबाट स्वास्थ्य जनशक्ति समेत बढाइनेछ, त्यसका लागि सञ्चारमाध्यममा तत्कालै विज्ञापन समेत गरिनेछ ।’

उपत्यकामा लक्षण नदेखिएका संक्रमित घरमै बस्न सक्ने निर्णय भएको पनि ती मन्त्रीले बताए । ‘लक्षण देखिएकालाई डेडिकेटेड आइसोलेसन बेडमा लगिने र रोगको गम्भीरताका आधारमा थप उपचार गर्ने पनि निर्णय भएको छ ।’

देशको राजधानीमै कोरोना संक्रमितलाई उपचार पाउन मुस्किल

दूरदराजका दुर्गम गाउँमा होइन, देशको राजधानी काठमाडौंमै कोरोना संक्रमितले आइसोलेसन बेड पाउन मुस्किल भएको छ । दिनदिनै संक्रमित बढ्दै गएपछि बिरामीले घरमै बस्नुपर्ने अवस्था आएको छ ।

बिहीबार मात्रै उपत्यकामा दुई सय संक्रमित थपिएका छन् । काठमाडौंमा एक सय ७४, ललितपुरमा १८ र भक्तपुरमा आठजनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या काठमाडौंमा एक हजार नौ सय ६२, ललितपुरमा तीन सय २१ र भक्तपुरमा एक सय ४१ पुगेको छ । संक्रमणबाट उपत्यकामा ११ जनाको ज्यान गइसकेको छ । तीमध्ये सात जना काठमाडौं महानगरका बासिन्दा हुन् ।

उपत्यकामा देखिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं महानगरकै छन् । स्वास्थ्य मन्त्रालयका अनुसार महानगरभित्र एक हजार चार सयभन्दा बढी संक्रमित पुगेका छन् । तर, महानगरले त्यसअनुसार तयारी भने केही गरेको छैन । देशकै धनी महानगरले दुर्गमका गाउँपालिकाले स्कुलका टहरा र चौरमा पाल टाँगेर क्वारेन्टाइन तथा आइसोलेसन व्यवस्थापन गरे जति तयारी पनि गरेको छैन ।

संक्रमित बढ्दै गएपछि महानगरले सबै सेवा बन्द गरेर रोकथाम, नियन्त्रण र कन्ट्याक्ट ट्रेसिङका लागि विभागीय कर्मचारीलाई खटाएको छ । तर, पहिचान गर्न नसकेपछि कन्ट्याक्ट ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मी र जनप्रतिनिधि नै आत्तिन थालेका छन् । महानगरमा सोमबार एक सय १३, मंगलबार एक सय २७, बुधबार एक सय ३४ र बिहीबार एक सय ७४ संक्रमित थपिएका छन् । महानगरका ३२ वटै वडामा संक्रमण देखिएको छ ।

कतिपय संक्रमितको अत्तोपत्तो लगाउन नसकिएको महानगरका कोभिड फोकल पर्सन वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीले बताए । ‘काठमाडौं महानगरपालिका संघीय राजधानी हो, देशैभरिका मान्छेहरू यहाँ छन् ।

को कहाँ बस्छ, छुट्याउनै मुस्किल पर्छ, त्यसैले केही कठिनाइ भइरहेको छ,’ उनले भने । कोरोना नियन्त्रणका लागि स्वास्थ्य महाशाखाअन्तर्गतका ७० स्वास्थ्यकर्मी, नगर प्रहरी, जनप्रतिनिधि र अन्य विभागीय कर्मचारी पनि खटिएका छन् ।

तैपनि, संक्रमित पत्ता लगाउन गाह्रो भएको जनप्रतिनिधिहरूको गुनासो छ । काठमाडौं–१२ का वडाध्यक्ष विकास डंगोलले भने, ‘कहाँ कति थपिए भनेर पत्ता लाउनै मुस्किल भयो, पत्ता लागे पनि उपचार गराउन झन् गाह्रो भयो ।’

कोरोना उपचार हुने देशकै प्रमुख अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल डंगोलकै वडामा पर्छ । तर, त्यही वरिपरिका संक्रमितले पनि शुक्रराज अस्पतालको सेवा पाउन नसकेको गुनासो गर्छन् ।

‘एक जना संक्रमित देखिएपछि कीर्तिपुरस्थित आयुर्वेदिक अस्पतालमा भर्ना ग¥यौं । पछि उनकै परिवारमा बच्चालाई श्वास–प्रश्वासमा समस्या भएको खबर आयो, बच्चा र उनको परिवारलाई अस्पताल भर्ना गर्न लाख कोसिस गरेँ, कतै ठाउँ पाइएन,’ वडाध्यक्ष डंगोलले भने, ‘कोभिड अस्पताल भएकै वडाको अध्यक्ष भएर पनि मैले उपचार गराउन गुहार माग्नु परिरहेको छ ।’

संक्रमितको संख्या बढ्दै गएकाले अब महानगरले आफ्नै पूर्वाधार र पूर्वतयारी गर्नुपर्ने आवश्यकता देखिएको डंगोलले बताए । ‘अस्पताल बनाउने योजना छ, तर अहिल्यै बन्ने सम्भावना छैन,’ उनले भने, ‘कोभिडकै लागि अस्थायी अस्पताल बनाउनुपर्ने विषय अबको कार्यपालिका बैठकमा कुरा उठाउँछु ।’

काठमाडौं– १६ का वडाध्यक्ष मुकुन्द रिजालको पनि त्यस्तै गुनासो छ । अब वडामै अस्पताल सञ्चालन गर्नुपर्ने उनको भनाइ छ । ‘संक्रमण बढ्दो छ, तर बिरामीले उपचार पाएका छैनन्,’ रिजालले भने, ‘वडा क्षेत्रभित्र सञ्चालित जनमैत्री अस्पताल वर्षौँदेखि बन्द छ, केही नभए महानगरबाट त्यही अस्पताललाई भए पनि तत्कालै सञ्चालनमा ल्याउनु पर्छ ।’

कोभिड अस्पताल सञ्चालनको विषयमा मेयर, उपमेयरसहित स्वास्थ्य मन्त्रालय, जिल्ला प्रशासन र अन्य सरोकारवालालाई समेत सहयोगका लागि आग्रह गरेको उनले बताए ।

उपत्यकामा आइसोलेसन बेड थप्ने तयारी

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाडौं उपत्यकामा ६ सय ४७ आइसोलेसन बेड छन् । टेकु अस्पतालमा ५०, एपिएफ अस्पतालमा एक सय २०, शिक्षण अस्पताल महाराजगन्जमा आठ, पाटनमा सय, कीर्तिपुर आयुर्वेद अस्पतालमा सय, काठमाडौं मेडिकल कलेजमा ९०, ह्याम्स अस्पतालमा ३०, ग्रान्डी अस्पतालमा १९, वीरेन्द्र अस्पतालमा ८० र नेपाल प्रहरी अस्पतालमा ५० बेड छन् । सबै आइसोलेसन बेड भरिएपछि थप्ने तयारी गरिएको हो ।

उपत्यका नगरपालिका फोरमको अध्यक्ष एवं काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले एक साताभित्रै उपत्यकाभरि आइसोलेसन बेड थप्ने तयारी रहेको बताए । ‘संक्रमणको बढ्दो दर र सम्भावनालाई हेरेर क्वारेन्टाइन र आइसोलेसन बेड बनाउने तयारी भएको छ । एक साताभित्र निर्माण हुन्छन्,’ उनले भने । आइसोलेसन निर्माणका लागि सबै स्थानीय सरकारसँग समन्वय भइरहेको उनको भनाइ छ ।

काठमाडौं जिल्लास्तरीय संकट व्यवस्थापन केन्द्रले पनि आइसोलेसन बेड थप्न सुझाएको छ । प्रमुख जिल्ला अधिकारी जनकप्रसाद दाहालको संयोजकत्वमा बसेको बैठकले आइसोलेसन बेड सञ्चालनको सम्भावना रहेका ठाउँ तोकेर सिसिएमसीलाई पठाएको छ ।

उपत्यकामा सिसिएमसीले नै आइसोलेसन बेड व्यवस्थापन गर्ने मन्त्रिपरिषद्को निर्णय छ । त्यसैले जिल्ला संकट व्यवस्थापन केन्द्रले काठमाडौंको सतुंगलस्थित मनमोहन मेडिकल कलेज, डिल्लीबजारस्थित नेसनल मेडिकल कलेज, बालाजुस्थित जनमैत्री अस्पताल, इचंगुनारायण आवास, वसुन्धारास्थित महेन्द्रनारायण निधि स्मृति अस्पताल, जोरपाटीस्थित नेपाल मेडिकल कलेज, ग्वार्कोस्थित किस्ट मेडिकल कलेज, कलंकीस्थित सहिद मेमोरियल अस्पताल, बालाजुस्थित विनायक अस्पताल र वसुन्धराकै चिरायु अस्पताललाई आइसोलेसन केन्द्र बनाउन सिफारिस गरेको छ ।

जसअनुसार मनमोहनमा पाँच सय, नेसनलमा दुई सय ५०, जनमैत्रीमा सय, इचंगुनारायण आवासमा पाँच सय ५०, नेपाल मेडिकल कलेजमा ६ सय ४१, महेन्द्रनारायण निधि स्मृति अस्पतालमा दुई सय ५०, किस्ट मेडिकल कलेजमा पाँच सय, सहिद मेमोरियलमा सय, विनायक ५५ र चिरायुमा ६५ बेड आइसोलेसन सञ्चालन गर्न सकिने उल्लेख छ ।

त्यस्तै, भक्तपुरको खरिपाटी क्वारेन्टाइनलाई आइसोलेसनमा रूपान्तरण गरी दुई सय आठ बेड विस्तार गरिएको छ । त्यसमा आठ बेड स्वास्थ्यकर्मी र बाँकीमा संक्रमितका लागि राख्ने तयारी छ । यसैगरी ललितपुरमा पनि यसअघि क्वारेन्टाइन सञ्चालन गरिएका ठाउँलाई आइसोलेसन बेड बनाउने तयारी गरिएको छ । काठमाडौंको टोखा नगरपालिकाले भने सामुदायिक भवनमा आइसोलेसन बेड राख्ने निर्णय गरेको मेयर प्रकाश अधिकारीले बताए ।

टोखामा घरमै बस्ने संक्रमितलाई दैनिक ३५० भत्ता

टोखा नगरपालिकाले घरमै बसेर उपचार गराउने कोरोना संक्रमितलाई दैनिक तीन सय ५० रुपैयाँ भत्ता दिने भएको छ । संक्रमितलाई सन्तुलित आहारका लागि सहयोग पुर्‍याउने उद्देश्यले यस्तो निर्णय गरिएको मेयर प्रकाश अधिकारीले बताए ।

अहिले नगर क्षेत्रमा देखिएका ८० संक्रमितमध्ये २३ जना होम आइसोलेसनमा बसेका छन् । ‘घरमा बस्न नमिल्नेका लागि नगरपालिकाले चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा राख्छ, त्यहाँ राख्दाको व्यवस्थापन नगरपालिकाले नै गर्छ,’ मेयर अधिकारीले भने, ‘तर, घरमै बस्नेले पनि उपयुक्त प्रोत्साहन पाउनुपर्छ भनेर नगद नै दिने निर्णय भएको छ ।’ कोरोना पोजेटिभ भएको दिनदेखि नेगेटिभ आउँदासम्म दैनिक भत्ता दिइनेछ । नयाँ पत्रिका दैनिकबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस