२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा छोहडा तथा मरिचको ओसारपसार र ढुवानीमा प्रतिबन्ध

२०७७ भाद्र ९, मंगलबार प्रकाशित ( साल अघि) १२४१ पाठक संख्या

परासी, भदौ ९ –

कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) मा केराउ, छोहडा तथा मरिचको ओसारपसार र ढुवानीमा पूर्ण प्रतिबन्ध लगाइएको छ ।

जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्रबाट यस्ता वस्तुको अवैध ओसारपसार र चोरी निकासी बढेपछि जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले प्रतिबन्ध लगाउने निर्णय गरेको हो । निषेधाज्ञाका समयमा पनि जिल्लामा वैधअवैध रुपमा हरियो/सेतो केराउ, छोहडा तथा मरिचको आवश्यकताभन्दा बढी भण्डार र अवैध रुपमा भारततर्फ चोरी निकासी बढ्दै जाँदा कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएकाले आजदेखि उक्त वस्तुको ओसारपसार तथा ढुवानीमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिनुभयो ।

अब अर्को आदेश नभएसम्मका लागि ती वस्तुको ओसारपसार र ढुवानी गर्न पाईने छैन । निषेधाज्ञा तथा सीमा पूर्णरुपमा बन्द हुँदा पनि नेपाल–भारत सीमा क्षेत्रमा अवैध चोरी तस्करीमा कमी आउन सकेको छैन ।

देशका विभिन्न नाकाबाट भन्सार गराएर यस्ता वस्तु जिल्लाका विभिन्न स्थानमा रहेका गोदामघरमा आवश्यकताभन्दा अधिक मात्रामा भण्डारण गरी राख्ने तथा रातका समयमा लुकिछिपी भारततर्फ निकासी गराउने कार्य गर्दा शान्तिसुरक्षामा खलल पुग्नाका साथै कोभिड १९ को सङ्क्रमण समुदायस्तरमा फैलिन गई मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परेको प्रअिज पाठकले बताउनुभयो । स्थानीय प्रशासन ऐनअनुसार अर्को आदेश नभएसम्मका लागि त्यस्ता वस्तुको ओसारपसार र ढुवानीमा पूर्ण रोक लगाइएको उहाँले बताउनुभयो । उक्त आदेशको उल्लङ्घन गरेमा सुरक्षाकर्मीले तत्काल पक्राउ गरी सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

यहाँ रातको नौ बजेपछि जिल्लामा हिँडडुल गर्न रोक लगाईएको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचना अनुसार अव रातीको नौबजेपछि अत्यावश्यक काम परेर बाहिर निस्कनु परेमा प्रहरीलाई जानकारी गराउनुपर्नेछ ।जिल्ला प्रशासन कार्यालयले कोरोना परीक्षणका लागि स्वाव सङ्कलन गरिएका व्यक्तिलाई अनिवार्य होम क्वारेन्टिनमा बस्न पनि आग्रह गरेको छ । त्यसरी बस्न अटेरी गर्ने व्यक्तिलाई निगरानी गरी कारवाही गरीने कार्यालयले जनाएको छ । स्वाव सङ्कलन गरिएका व्यक्ति जथाभावि हिँडडुल गर्दा समुदायमा कोरोना सङ्क्रमण फैलिनुका साथै कन्ट्याक्ट टे«सिङ्मा चुनौती थपिएको प्रमुख जिल्ला अधिकारी पाठकले बताउनुभयो । स्वास्थ्य कार्यालय वा स्थानीय तहबाट स्वाव सङ्कलन गरिएका व्यक्तिहरुको विवरण प्रकाशन हुनेछ ।

जिल्लामा पछिल्लो समय कोभिड १९ को सङ्क्रमण समुदायस्तरमै फैलिएको छ । गाउँपालिका अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, विभिन्न निकायका कर्मचारी तथा सर्वसाधारण गरी जिल्लामा १७८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । कोभिड १९ को सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि पश्चिम नवलपरासीमा साउन ३१ गते राती १२ बजेदेखि भदौ १० गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा लागू गरिएको छ । –रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस