२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

प्रम ओलीभन्छन–‘उपत्यकावासीको सपना पूरा भयो

२०७७ फागुन २२, शनिबार प्रकाशित ( साल अघि) १४९१ पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ बाट ल्याइएको मेलम्चीको पानी २६.५ किमी सुरुङबाट परीक्षण भएर काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा झरेको छ ।

उपत्यकावासीको प्यास मेटाउन बहुप्रतिक्षित राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्चीको पानी सुन्दरीजलमा आएपछि शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीच दबाएर परीक्षण गरिएको पानी बागमतीमा झारे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपत्यकावासीको लामो सपना पूरा भएको बताए ।

‘मेलम्चीको पानी सुन्दरीजलबाट बागमतीमा झारेका छौँ, कोशीमा बग्ने पानी अब बागमतीमा आएको छ, प्रदेश नं १ मा जाने पानी बागमतीबाट प्रदेश नं २ हुँदै गएको छ, पानी दिने सिन्धुपाल्चोकको हेलम्बु एवं मेलम्ची क्षेत्रवासीलाई धन्यवाद दिन्छु, नेपालमा प्रविधिका माध्यमबाट ठूलो आयोजना सम्पन्न भएको छ’, उनले भने ।

विकास निर्माणमा एकपछि अर्को सफलता प्राप्त भएको प्रधानमन्त्री ओलीले बताए । आफ्नै पार्टीभित्रकाले काम गर्न नदिएपनि फागुन १० गतेदेखि २२ गतेसम्म ठूला आयोजना उद्घाटन वा शिलान्यासका काम भइरहेको उनले सुनाए ।

मेलम्चीको पानी प्रशोधनका लागि सुन्दरीजलमा साँढे आठ करोड लिटर क्षमताका दुई प्रशोधन केन्द्र निर्माण सम्पन्न भएको छ । प्रशोधित पानी सुन्दरीजलबाट लगेर उपत्यकाका नौ स्थानमा निर्माण भएका पानीपोखरीमा हाली त्यहाँबाट वितरण गरिन्छ । अर्को एक पानीपोखरी हाल निर्माण भइरहेको मन्त्रालयले जनाएको छ ।

पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड लिटर पानी उपत्यकामा आउनेछ । दोस्रो चरणको याङ्री र लार्केको विस्तृत परियोजना प्रस्ताव तयार भइसकेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । दोस्रो चरणका दुई खोलबाट थप ३४ करोड लिटर गरी दैनिक ५१ करोड लिटर पानी सुरुङमार्गबाट राजधानी ल्याई वितरण गरिने योजना छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस