२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

पश्चिम चितवनमा पर्यटकको आकर्षण

२०७७ चैत्र १, आईतबार प्रकाशित ( साल अघि) १५२५ पाठक संख्या

चितवन । चितवन राष्ट्रिय निकुञ्ज घुम्न भनेपछि सौराहामात्रै सम्झने पर्यटक अहिले पश्चिम चितवनतर्फ आकर्षित हुन थालेका छन् । निकुञ्जका जंगली जनावर पश्चिमतर्फ केन्द्रित हुन थालेपछि जंगल सफारीका लागि आउने पर्यटकको रोजाइ त्यतातिर हुन थालेको हो ।

झण्डै तीन दशकदेखि चितवनमा रहेर पत्रकारिता गर्दै आएका ईश्वर जोशी देशको तेस्रो पर्यटकीय गन्तव्य पहिले–पहिले सौराहा भन्ने गरिए पनि अहिले चितवन बनेको बताउँछन् । उनका अनुसार सौराहा जत्तिकै उपयुक्त गन्तव्य पश्चिम चितवनका राप्ती र नारायणी किनार बन्दै गएका छन् ।

सौराहा निकुञ्ज छिर्ने प्रवेशद्वार पनि हो । त्यसैगरी पश्चिम चितवनका पटिहानी, जगतपुर, मेघौलीलगायत ठाउँबाट पनि राप्ती र नारायणी नदी हुँदै निकुञ्ज प्रवेश गरिन्छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार अहिले निकुञ्जका ६० प्रतिशतभन्दा बढी गैंडा कसराको पश्चिमतर्फ छन् । सो क्षेत्रमा मानवीय चाप कम भएकाले गैंडासहित अन्य वन्यजन्तुको वासस्थान राम्रो छ । सौराहा क्षेत्रमा जंगल सफारीसहित अन्य गतिविधिमा रमाउने पर्यटकको रोजाइ हुने गरेको छ भने विशुद्ध जंगल सफारीमा रमाउनेहरू भने पश्चिम चितवनतर्फ आकर्षित हुने गरेको बरालको बुझाइ छ ।

पर्यटनविज्ञ विश्व सुवेदी विगत वर्षको तुलनामा जिल्लामा भित्रिने पर्यटक पश्चिमतर्फ लाग्ने प्रतिशत बढ्दै गएको बताउँछन् । उनका अनुसार अघिल्लो आर्थिक वर्ष जिल्ला भित्रिएकामध्ये ९० प्रतिशत सौराहा र १० प्रतिशत पर्यटक पश्चिमतर्फ बसेको तथ्यांक छ । गतवर्षमा पश्चिम चितवन जानेको संख्या १५ प्रतिशत पुगेको छ । वर्षेनि यो संख्या थपिँदै जाने उनको
आकलन छ ।

वर्षेनि २ लाखभन्दा बढी पर्यटक भित्रिने गरेको चितवनमा पर्यटकीय होटलको संख्या २१५ छ, जसमध्ये सौराहामै ११० ओटा छन् । सौराहाबाट दैनिक ३२ ओटा जीप पर्यटक लिएर निकुञ्ज छिर्छन् भने पश्चिम चितवनबाट आठओटा जीप निकुञ्ज छिर्ने गर्दछन् ।

सौराहा क्षेत्रमा झैं पश्चिम चितवनमा पनि सामुदायिक वनमा हात्ती सफारी गर्ने गरिन्छ । जंगल सफारीमा उपयुक्त भएसँगै पश्चिम चितवनमा पर्यटकको संख्या बढ्दै गएको सुवेदीको भनाइ छ । ठूला होटल पटिहानी, जगतपुर र मेघौलीमा छन् । यस वर्ष घुम्न विदेश जान नपाएका नेपालीहरू पश्चिम चितवन आउन थालेको उनले बताए ।

क्षेत्रीय होटल संघ सौराहाका महासचिव गुणराज थपलिया सौराहाको महŒव कहिल्यै नघट्ने भए पनि चुनौती भने थपिँदै गएको बताउँछन् । थप पर्यटकीय गतिविधि सञ्चालन गरेर पर्यटकको बसाइ लम्ब्याउने, आगमन बढाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।

सौराहा आउने पर्यटकले खानाको गुणस्तर र मूल्यमा विगतमा झैं गुनासो समेत गर्ने गरेका छन् । अघिल्ला वर्षहरूमा विदेशीलाई मात्रै पर्यटकका रूपमा लिने गरेको भए पनि विदेशी पर्यटक रोकिएपछि भने स्वदेशी पर्यटकबाट पर्यटकीय गतिविधि शुरू गरिएका छन् ।

पर्यटन प्रवद्र्धनमा सक्रिय पटिहानीका अपिल घिमिरे हिजोआज पटिहानी क्षेत्रमा स्थानीय र बाहिरबाट समेत ठूलो संख्यामा आन्तरिक पर्यटक आउने गरेको बताउँछन् । उनका अनुसार त्यहाँ रहेको अम्रेला स्ट्रिटमा रमाउन बढी पर्यटक आएका छन् ।  रासस

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस