२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणगढ देखि लोथरसम्म चल्ने सार्वजनिक बस अनिश्चितकालिन बन्द

२०७७ चैत्र ५, बिहिबार प्रकाशित ( साल अघि) १२८० पाठक संख्या

मनिका विश्वकर्मा

 चितवन , चैत ५ । नारायणगढदेखि पूर्वीचितवनको लोथरसम्म चल्ने सार्वजनिक बस चारदिन अघिदेखि अनिश्चितकालिन बन्द गरिएको छ ।

भरतपुर महानगरपालिकाले म्याजिक सञ्चालन गर्न अनुमति दिएको विरोधमा व्यवसायीले बस बन्द गराएका हुन् ।

लकडाउनपछि महानगरपालिकाले भरतपुरमा चल्ने ६० वटा म्याजिकहरु नारायणगढदेखि लोथरसम्म सञ्चालन गर्ने अनुमति दिएको थियो । चितवन छहारी यातायात सेवा प्रालिका अध्यक्ष बद्रीप्रसाद पौडेलका अनुसार चालक तथा सहचालकहरुले म्याजिक चल्न बन्द गरे मात्र बसहरु सुचारु गर्ने भनेका छन् । म्याजिकहरु भित्री बाटोमा चल्नुपर्नेमा राजमार्गमा चलिरहेको भन्दै पौडेलले विरोध गरे ।

त्यस्तै राष्ट्रिय राजमार्गमा तीनवटा नगरपालिका पर्छन् । रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाले पनि साना सवारी साधन चलाएको कारण पनि दुर्घटना बढिरहेको र म्याजिक सञ्चालनमा रोक लगाउनुपर्ने भनेर सिडियो कार्यालयमा निर्णयहरु पेस गरेको पौडेलले बताए । उक्त निर्णयहरु कार्यान्वयन हुन नसकेकोमा उनीहरुले आपत्ति जनाएका छन् ।

चितवन छहारी यातायात सेवा प्रालिबाट दैनिक २०० सार्वजनिक बसहरु चल्थे । अहिले ती बसहरु सबै बन्द गरिएको छहारी यातायात प्रालिका कार्यालय प्रमुख फित्तबहादुर श्रेष्ठले बताएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सार्वजनिक बस रोक्ने निश्चित ठाउँ नतोकिदिँदा धेरै जरिवाना तिर्नुपर्ने उनले बताएका छन् ।

उनले भने, ‘आफूहरुलाई सहज हुने तरिकाले जरिवाना पनि बैंकिङ प्रणालीबाट तिर्ने भन्ने सिस्टम ल्याए । यसले गर्दा बस चालकहरु अलमलिएका छन् । झन्झटिलो भएको छ ।’ म्याजिकले गर्दा यात्रुहरु कम हुनाले पहिला भन्दा अहिले बस चालकको आम्दानी पनि घाटामा गएको श्रेष्ठले बताए । म्याजिक संञ्चालन नहुँदा दिनभरी एउटा बसको दुई हजार सम्म आम्दानी हुने र अहिले पुरै घाटामा गएको बस चालकहरुले गुनासो गरेका छन् ।

सार्वजनिक बसहरु नचल्दा पूर्वी चितवनबाट भरतपुरका कलेज, जागिर गर्न आउने व्यक्तिहरुलाई समस्या भएको छ । बस नपाउँदा कलेज नै जान नपाएको पूर्वी चितवनकी विद्यार्थी आरोसी पौडेलले बताएकी छन् । उनलाई बिहान ८ बजे कलेज आउनुपर्नेमा बस नपाउँदा आधा घण्टा नै रोकिनुपरेको उनले बताइन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टका अनुसार सार्वजनिक बस मन लागे चलाउने र मन नलागे नचलाउने गर्न पाइँदैन । उनीहरुको माग पुरा गरेर छिट्टै बस सञ्चालन गर्ने भट्टले बताएका छन् । बस चालकहरुले ट्राफिक नियम उल्लंघनको विषय पनि मागमा राखेको भए पनि गल्ती गरेकै कारण नै जरिवाना लिएको उनले बताएका छन् । विगतदेखि सार्वजनिक बसहरु जहाँ रोकेका छन् हाल पनि त्यही स्थानमा नै रोक्नुपर्ने भट्टले भने जहाँ पायो त्यही बस पार्किङ गरेकोले पनि कारबाही गरिएको हो ।’ ट्राफिक नियमको बारेमा सहचालक र चालकलाई यातायात सेवाले जानकारी गराउनुपर्ने उनले बताए ।

त्यसैगरी सो रुटमा म्याजिक सञ्चालन गर्दै आएको मलमल यातायात व्यवसायका अध्यक्ष चिनीबहादुर बोहोराका अनुसार म्याजिकहरु चल्न पाउने भनेर गत साल महानगर, जिल्ला ट्राफिक कार्यालय र जिल्ला प्रशासनसँग समन्वयन गरेर सहमति भएको थियो । सहमति भएपछि गत फागुन १६ गतेदेखि १ देखि १३ नम्बर सम्म रुटहरु तयार गरी म्याजिक चलाउन थालिएको बोहोराले जानकारी दिए । उनले भने, ‘म्याजिक सञ्चालन भए देखि नै सार्वजनिक बसहरुले विरोध गर्दै आएको छ ।’ यातायात व्यवस्थापन विभागबाट नै ती राजमार्गमा म्याजिकहरु चल्न पाउने भनेर स्विकृत भएको उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस