२०८१ मंसिर ६, बिहिबार
नयाँ
पछिला अपडेट

चितवनका अस्पतालमा हेलिकोप्टरबाट ल्याउन थालियो कोरोना संक्रमित

२०७८ बैशाख २६, आईतबार प्रकाशित ( साल अघि) २४०४ पाठक संख्या

चितवन । काठमाडौँसहित देशका मुख्य ठूला शहरका अस्पतालमा शय्या भरिएपछि हेलिकोप्टरमार्फत चितवनमा कोरोना संक्रमितहरू ल्याउन थालिएको छ।चितवनमा अक्सिजन र शय्याको अभाव हालसम्म नदेखिएपछि अन्यत्रबाट यहाँ सङ्क्रमित ल्याउने क्रम बढेको हो।

जिल्लाको सरकारी भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिड उपचार हुँदै आएको छ।यहाँकै विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले पनि क्यान्सरका बिरामी र कर्मचारी सङ्क्रमित भएमा राख्नका लागि २० शय्याको कक्ष तयार गरेको छ।

यी सबै अस्पतालका आफ्नै अक्सिजन प्लान्ट भएकाले हालसम्म अक्सिजनको अभाव देखिएको छैन। चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी निर्देशक प्रताप देवकोटाका अनुसार हालसम्म काठमाडौँबाट दुई, नेपालगञ्जबाट दुई, दाङ र भैरहवाबाट एकरएक सङ्क्रमितलाई हेलिकोप्टरबाट यहाँ ल्याइएको छ।

आज मात्रै एक सङ्क्रमितलाई काठमाडौँबाट हेलिकोप्टरमार्फत यहाँ ल्याइएको उनले बताए। उनकाअनुसार एम्बुलेन्स र अन्य साधन प्रयोग गरी धेरै टाढाबाट आउने सङ्क्रमितको सङ्ख्या ठूलो छ।

‘यसरी आउनेको यकिन तथ्याङ्क त छैन तर ठूलो सङ्ख्यामा काठमाडौँ लगायतका ठूला शहरबाट सङ्क्रमित यहाँ आएका छन्,’ उनले भने।स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारी बिरामी थाम्न मुस्किल हुन थालेको बताउँछन्। ‘अब थप बिरामी उपचार गर्न कठिन होलाजस्तो छ। सके र भएसम्म हामी जुटिरहेका छौँ,’ उनले भने।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले यहाँ जटिल बिरामीलाई मात्रै पठाइदिन छिमेकी जिल्लामा अनुरोध गरेको बताए।आज मात्रै मकवानपुर, नवलपरासी त्रिवेणी सुस्तापूर्व पश्चिम र रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई टेलिफोन गरेर सामान्य अवस्थाका बिरामीलाई त्यहीँ व्यवस्थापन गरी जटिल मात्रै पठाइदिन अनुरोध गरेको उनले बताए।

जिल्लाका अस्पतालमा अन्य जिल्लाबाट हेलिकोप्टरमा समेत बिरामी आएको भन्दै उनले सामान्य अवस्थाका सङ्क्रमित आएर शय्या भरिएमा जटिल बिरामीलाई उपचार दिन कठिन हुने बताए। साथै उनले जिल्लाका अन्य निजी अस्पतालले पनि आजदेखि सङ्क्रमितको उपचार थाल्ने जानकारी दिए।

अस्पतालहरुलाई वैकल्पिक स्वास्थ्यकर्मीको टिम तयार गरेर राख्न भनिएको छ। जिल्लाका अस्पतालमा कोभिडको उपचार गराउन आउने ५० प्रतिशत हाराहारी बाहिरी जिल्लाका रहेको अस्पतालले जनाएका छन्।

स्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार जिल्लाका अस्पतालमा ३५६ सङ्क्रमितको उपचार भइरहेको छ। तीमध्ये चितवन मेडिकल कलेजमा १४९, भरतपुर अस्पतालमा १३१, कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पतालमा ५१, क्यान्सर अस्पतालमा एक र अन्य अस्पतालमा २४ जनाको उपचार भइरहेको कार्यालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा जिल्लाका विभिन्न अस्पतालमा र अस्पताल ल्याउँदै गरेको गरी १४ जनाको मृत्यु भएको छ।

जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर अस्पतालमा छ, चितवन मेडिकल कलेजमा दुई, कलेज अफ मेडिकल साइन्सेजमा तीन, क्यान्सर अस्पतालमा एक र राप्ती नगरपालिकाबाट अस्पताल ल्याउँदै गर्दा बाटोमा एक जनाको मृत्यु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस