२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोतीको जिल्ला अस्पतालमा ३९ बिरामी उपचाररत, छैन अक्सिजन

२०७८ बैशाख ३१, शुक्रबार प्रकाशित ( साल अघि) १११७ पाठक संख्या

नारायण शर्मा

नवलपुर — कावासोतीमा रहेको जिल्ला अस्पतालमा अक्सिजन हाहाकार भएको छ । अक्सिजन सप्लाई गर्ने कारखानाले शुक्रबार अक्सिजन दिन नसक्ने जानकारी दिएपछि जिल्ला अस्पतालमा अक्सिजन सहायतामा उपचाररत २७ जना कोरोना संक्रमितको अवस्था गम्भीर भएको हो ।

यहाँ अन्य रोगका १२ जना बिरामीको पनि अक्सिजन दिएर उपचार भइरहेको छ ।जिल्ला अस्पतालमा उपचार गराइरहेका २७ जना कोरोनाका बिरामीलाई दैनिक कम्तिमा ३५ सिलिण्डर अक्सिजन आवश्यक पर्दछ । अक्सिजन हाईफ्लोमा दिन पर्ने बिरामीको अवस्था जटिल हुने भएकाले चिकित्सक चिन्तित छन् । आपूर्तिकर्ताले शुक्रबारबाट अक्सिजन दिन नसक्ने जानकारी गराएपछि एकाएक उपचारमा समस्या भएको हो ।

मध्यबिन्दु जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट वीरबहादुर थापाले यसअघि सप्लाई गर्दै आएका सप्लायर्सले बजारमा अक्सिजन नपाइएको भन्दै आपूर्ति गर्न नसक्ने जानकारी दिएपछि बिरामीको उपचार हुन नसक्ने अवस्था आएको बताए । ‘बिरामीलाई अन्यत्र रिफर गर्ने ठाउँ(बेड अभावले) पनि छैन’, उनले भने ।

यहाँ अक्सिजन सप्लाई गर्ने, नवलपुर अस्पताल, गैंडाकोटमा रहेको सिद्धि विनायक अक्सिज उद्योगले अक्सिजन सप्लाई गर्न नसक्ने भन्दै हात उठाएपछि जिल्ला अस्पतालमा अक्सिजनको हाहाकार भएको हो । अक्सिजन सप्लाई गर्ने अन्य सप्लायर्सहरुले पनि सबैतिर माग बढेका कारण आपूर्ति गर्न असहज भएको जानकारी गराएका छन् ।

गैंडाकोट नगरपालिकामा रहेको सिद्धि विनायक अक्सिजन उद्योगका प्रबन्धक हिमनाथ घिमिरेले आफूहरुकै पुरानो मेडिकल कलेजमा घण्टाकै १५ वटा भन्दा बढी अक्सिजन सिलिण्डरको माग भएका कारण अन्यत्र पठाउन नसकिने जानकारी दिए । पुरानो मेडिकल कलेजद्वारा सञ्चालित सिद्धिविनायक अक्सिजन उद्योगले आफ्नै बिरामीलाई हाहाकार भएका कारण अन्यत्र सप्लाई गर्न नसकिएको जानकारी दिएको छ । उनले आफूलाई आवश्यक बाहेक पहिलो प्राथामिकता नवलपरासी जिल्ला अस्पताललाई नै दिएको सुनाए । पूर्वी नवलपरासीमा अक्सिजन उत्पादन गर्ने उद्योग यो एउटा मात्र हो ।

प्रमुख जिल्ला अधिकारी मनमाया पंज्ञेनीले अक्सिजन उपलब्ध गराउन आफूले सबैतिर समन्वय गरिहेको जानकारी दिइन् । जिल्लामा एउटामात्र अक्सिजन उद्योग रहेको र त्यो भरतपुरस्थित पुरानो मेडिकल कलेजले सञ्चालन गरका कारण उसको आफनै बिरामीको चाप अत्यधिक रहेकाले समस्या परेको सुनाइन् । उनले सबैतिर समन्वय गरेर अक्सिजन सप्लाई गर्ने प्रयास भइरहेको जानकारी दिइन् ।

पूर्वी नवलपरासीस्थित जिल्ला अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. गोपाल खनालले अस्पताल हातामै अक्सिजन उद्योग सुरु गरिएको जानकारी दिँदै अर्को सातादेखि उत्पादन सुुरु गर्ने लक्ष्य राखेको बताए । ‘अस्पताल हातामै दैनिक १८ वटा सिलिण्डर उत्पादन हुने उद्योग सुरु गरेका छौं,’ उनले भने, ‘अब अर्को साताबाट उत्पादन सुुरु भएपछि केही राहत हुन्छ । त्यतिन्जेल कसरी धान्ने भन्ने चिन्ता छ ।’ खनालले भने ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस