२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा केराउ तस्करी बढ्यो : लाइन मिलाउन ३० लाख

२०७८ भाद्र १, मंगलबार प्रकाशित ( साल अघि) १९०९ पाठक संख्या

हरि शर्मा

परासी : पश्चिम नवलपरासीमा हरियो केराउ (मटर) तस्करी बढेको छ । जिल्लाको सीमावर्ती क्षेत्र झोलनिपुर, बसैया, धर्मौली, हरकपुरा नाकाबाट दैनिक ८ देखि १० ट्रक केराउ भारत तस्करी हुने गरेको बताइएको छ ।

कारोबारीहरुले बर्दघाट, बासाबसही, गोपिगञ्ज र परासी बजारमा केराउ ल्याएर राख्ने र त्यहाँबाट बिल काटेर सीमावर्ती क्षेत्रको गोदाममा लगेर राख्ने गरेका छन् । गोदामबाट उनीहरुले साइकल र विभिन्न व्यक्तिलाई झोला र बोरामा बोकाएर भारत पठाउने गरेका हुन् । विभिन्न समयमा प्रहरीले केराउ बरामद गर्ने गरेपनि बिल र अन्य कागजपत्र दुरुस्त रहेको भन्दै छाडिदिने गर्दा तस्करी झन बढेको हो । त्यसरी छाडिएका केराउ भारतीय एसएसबीले धमाधम बरामद गर्न थालेको छ ।

यसैबीच साउन महिनाको अवधिमा जिल्ला प्रहरी कार्यालयले १ करोड २२ लाख बराबरको हरियो केराउ(मटर) बरामद गरेको थियो । ट्रक र पिकअप भेनमा बरामद भएको केराउ मध्ये २२ लाख बराबरको लिलामका लागि भन्सार पठाइएको थियो भने १ करोड बराबरको केराउ बिल भरपाई रहेको भन्दै कारोबारीलाई फिर्ता दिएको थियो । प्रहरीले केराउ बरामद गर्न थालेपछि कारोबारीहरुले अहिले प्रहरी प्रशासन मिलाउन ३० लाख रुपैयाँ संकलन गरेको बताइएको छ ।

उक्त रकम सिडिओ, एसपी र सीमावर्ती क्षेत्रमा रहेका शसस्त्र र नेपाल प्रहरी चौकीहरुमा मिलाउनका लागिरहेको कारोबारीले बताएका छन् ।  नेपालमा लाइन क्लिएर भएपनि भारतमा एसएसबी(भारतीय सीमा सुरक्षा बल) ले कडाइ गरेपछि पहिलाजस्तो धेरै मात्रामा पठाउन नसकिएको स्वयंम कारोबारीहरुको भनाइ छ ।

तस्करीको समाचार बाहिर आए काम गर्न समस्या हुने भन्दै उनीहरुले पत्रकारलाई मिलाउन भन्दै केही रकम छुट्टाएको एक कारोबारीले निर्धक्क भनेका छन् । संकलन गरेको उक्त रकम सम्बन्धित व्यक्तिहरुलाई पुर्‍याउन अर्कै मध्यस्थकर्ता खोजेर दिइएको बताइएको छ । उक्त मध्यस्थकर्ता प्रहरी हुन वा अन्य भन्ने बारे ति कारोबारीले बताउँन चाहेनन् । उक्त रकम मासिक हो । भारततर्फ कडाई नगर्ने हो भने दैनिक २० देखि ३० ट्रक केराउ तस्करी हुने सीमावर्ती क्षेत्रका स्थानीयहरु बताउँछन् ।

प्रहरी/प्रशासनलाई रकम दिएर तस्करीको लाइन मिलाएको आरोप बारे प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र एसपी मनोज कुमार यादवले बजारमा आफूहरुले पनि हल्ला सुनेको बताए । प्रहरी प्रशासनलाई बदनाम गराउने नियतले चलाइएको गम्भीर विषयप्रति अनुसन्धान गरिरहेको उनीहरुको भनाइ छ । मटर विरगञ्जको नाकाहुँदै आउने गर्दछ ।

बिल भरपाई दुरुस्त राखेर सीमावर्ती गोदामसम्म लैजानका लागि ल्याइएका केराउ बरामद गर्न कानुनी समस्या भएको प्रहरीको भनाइ छ । ‘ बिल भरपाइ हुन्छ । भन्सार र राजश्वमा बुझाउँदा पनि लिन मान्दैनन् । तस्करी नियन्त्रण गर्न केही दिन बरामद केराउ र गाडी कार्यालयमा राखेर छाड्ने गरेका छौं, ’ एसपी यादवले भने ।

जिल्लामा केराउ तस्करी बढेको जिल्लाका प्रतिनिधि सभा सदस्यद्धय देबेन्द्रराज कँडेल र हृदयेश त्रिपाठीले सार्वजनिक रुपमै बताउँदै आएका छन् । पूर्वगृहराज्य मन्त्रीसमेत रहेका कँडेलले सदनमै प्रहरीले ५० लाख लिएर तस्करी गराएको आरोप लगाएका थिए ।

त्यसैगरी पूर्वमन्त्री त्रिपाठीले ३ दिनअघि परासीमा भएको पत्रकार भेटघाट कार्यक्रममा पनि मिलमतोमा ठूलो मात्रामा केराउ तस्करी हुँदै आएको बताएका थिए । तस्करी बढेको बारे लुम्बिनी प्रदेशका प्रहरी प्रमुख (डिआइजी) मुकुन्दराज आचार्यले त्यसलाई गंभिरताका साथ बुझ्ने बताए ।‘तस्करी बढेको र तस्करसँग प्रहरीले रकम लिएको बारे अनुसन्धान गछौं,’ डीआइजी आचार्यले भने ।

यसैबीच हप्ता दिनको अवधिमा नवलपरासीसँग सिमाना जोडिएका नाकाबाट भारतर्फ जाँदै गरेको करिब १ हजार ३ सय क्विण्टल केराउ बरामद भएको भारत ठूठीबारी कस्टम (भन्सार कार्यालय)ले जनाएको छ । भारतमा धमाधम केराउ बरामद हुनुले पनि जिल्लामा तस्करी बढेको प्रष्ट बुझ्न सकिने बताइएको छ ।

तस्करी रोक्न गोदाममा राखेका केराउको परिमाण, खपत हुने स्थान र बिल रुजु गर्न सके धेरै हदसम्म नियन्त्रणमा आउने देखिएको छ । तर राजश्व कार्यालयले समेत त्यसतर्फ ध्यान नदिदां तस्करी कार्य बढेको स्थानीयको भनाइ छ ।

Screenshot_20210817 163801_Facebook

भारतीय एसएसबीले पक्राउ गरी सीमावर्ती क्षेत्रको ठूठीबारी कस्टम (भन्सार कार्यालय) मा बुझाएको तस्बिर नवलपरासीहुँदै गएका तस्करीका केराउ । अन्नपूर्ण पोस्टबाट

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस