२०८१ आश्विन ६, आईतबार
नयाँ
पछिला अपडेट

बुटवल–नारायणगढ सडकमा खल्डैखाल्डा

२०७८ भाद्र ७, सोमबार प्रकाशित ( साल अघि) ८८४ पाठक संख्या

नारायण शर्मा/ कावासोती । महेन्द्रराजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडकखण्डमा खाल्टाखुल्टीले यात्रा असहज बनेको छ । महेन्द्रराजमार्ग फराकिलो पार्ने ठेक्का पाएको चिनियाँ कम्पनीले मर्मतको काम नगर्दा राजमार्गमा जताततै खाल्डा बनेका छन् ।

कावासोतीदेखि नारायणगढसम्मको सडकखण्डको ३२ किलोमिटर पार गर्न २ घण्टाभन्दा बढी समय लाग्छ । पक्की सडकमा जताततै खाल्डैखाल्डा छन् भने पुल बनाउन भत्काइएको स्थानमा ग्राभेल हालेर सम्म नबनाएका कारण दुर्घटनाको जोखिम बढेको छ ।

जिल्ला प्रशासन कार्यालयले सडक निर्माणको जिम्मेवारी पाएको ‘चाइना स्टेट इन्जिनियरिङ कार्पोरेसन’लाई सडकका खाल्डा पुर्नका लागि पटकपटक ताकेता गरेपनि नटेरेको प्रशासनले बताएको छ । ‘मुख्य बजारमा भत्किएको सडक पुर्न र रोलिङ गरेर सम्याउन दर्जनौं पटक पत्राचार गरिसकेका छौं । तर, चिनियाँ ठेकेदार कम्पनीले टेर्दैटेर्दैन,’ पूर्वी नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन थापाले भने ।

आउँदो शुक्रबारभित्र प्रशासन कार्यालयमा चिनियाँ ठेकेदार कम्पनीका प्रातिनिधि, कन्सल्टेन्ट र सडक डिभिजनका प्रतिनिधिसहित बैठक डाकेको पनि थापाले बताए ।

दाउन्नेदेखि नारायणगढसम्मको कुल ६५ किलोमिटर सडकखण्डमा पनि बर्खाको पानी भरिएका सैयौं खाल्टा छन् । त्यसले पनि दुर्घटनाको जोखिम बढाएको छ । महेन्द्रराजमार्ग फराकिलो पार्ने क्रममा त्यहाँको सडकमा रहेका खाल्टा २४ घण्टाभित्र पुर्नुपर्ने सम्झौता भएपनि चिनियाँ कम्पनीले विगत ८ महिनादेखि आलटाल गरिरहेको छ ।

‘कतैकतै खाल्टा पुर्न माटो हालेको देखिन्छ,’ गैंडाकोट नगरपालिकाका मेयर छत्र पौडेलले भने, ‘सडकमा खाल्टो पुर्न हालेको माटो पानी पर्नासाथ बग्छ र बाटो उस्तै हुन्छ ।’ नगरपालिकाले पनि चिनियाँ ठेकेदारको काम हेर्न डिभिजन सडक कार्यालयमा ४ पटक पत्राचार गरेपनि सुनुवाइ नभएको मेयर पौडेलको भनाइ छ ।

पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारमा राजमार्गका खाल्टा गाडी चलाउँदा देखियोस् भनेर स्थानीयले ठाउँठाउँमा ठूला टायर राखिदिएका छन् । ‘खाल्डा छल्दै हिँडन कम सकस छैन,’ कावासोती नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष आनन्द गुरुङले भने, ‘देशकै मुख्य राजमार्गको यस्तो बिजोग छ ।’

प्रतिक्रियाका लागि महेन्द्रराजमार्ग अन्तर्गत दाउन्ने नारायणगढ सडक कार्यालयका प्रमुख इन्जिनियर रमेश दृष्टिलाई सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।

महेन्द्रराजमार्गको बुटवल–नारायणगढको १ सय १४ किलोमिटर सडक फराकिलो पार्न १७ अर्बमा ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी ‘चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन’ले करिब ३ वर्षको अवधिमा ४ प्रतिशत पनि काम सम्पन्न गरेको छैन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस