कोल्हुवा । मध्यविन्दु नगरपालिका– २ सेहरी स्थित नन्दपुर–सेहरी सडक २१ लाख ४२ हजार १६७ रुपैयाँको लागतमा कालोपत्रे गरिएको छ ।
दुई खण्ड गरी कूल ३०० मिटर लम्बाइ र पाँच मिटर चौडाइको सडक नगरपालिका र जनसहभागिताबाट ६०÷४० प्रतिशत लागतमा सम्पन्न भएको हो ।
योजना सम्बन्धमा जानकारी दिन निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमनारायण महतोले सबैको सहयोगमा योजना सफल भएको बताए ।
वडा नं २ का अध्यक्ष नारायण पौडेलले वडामा सडक पूर्वाधारका साथै अन्य विकास निर्माणका कामलाई प्राथमिकताका साथ अघि बढाइएको उल्लेख गरे ।
नन्दपुर- सेहरी सडक कालोपत्र र ढलान भएपछि त्यहाँका स्थानीयवासी हर्षित भएका छन् । वर्षौंदेखि सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् ।