२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

पूर्वी नवलपरासीका ७ हजार महिला विदेशमा

२०७८ माघ १३, बिहिबार प्रकाशित ( साल अघि) १३३७ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी — पूर्वी नवलपरासीका ७ हजार महिला विदेशमा रहेका छन् । उनीहरू रोजगारीका लागि विदेसिएको केन्द्रीय तथ्यांक विभागको पछिल्लो रिपोर्टमा उल्लेख गरिएको छ । यहाँ घर भएर विदेशमा रहनेको कुल जनसंख्या ४४ हजार रहेकोमा जिल्लाको कुल जनसंख्याको २ प्रतिशत सर्वसाधारण विदेशमा रहेको विभागद्वारा सार्वजनिक रिपोर्टमा जनाइएको छ ।

विदेश जानेमध्ये ३७ हजार एक सय पुरुष र ६ हजार ९ सय महिला रहेको पछिल्लो तथ्यांकमा उल्लेख छ ।

गएको १० वर्षयता पूर्वी नवलपरासीमा ६९ हजार जनसंख्या वृद्धि भएको छ भने जिल्लाको पहाडी क्षेत्रमा जनसंख्या घट्दै जाने (बसाइसराइ) र तराईमा बढ्दै गएको तथ्यांकले देखाएको छ ।

बुधबार केन्द्रीय तथ्यांक विभागले नेपालको जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै यहाँको जनसंख्या ३ लाख ८१ हजार १ सय ५ पुगेको जनाएको हो । २०६८ को जनगणनाअनुसार यहाँको जनसंख्या ३ लाख ११ हजार ६ सय ४ रहेको थियो ।

यसैगरी बुधबार सार्वजनिक भएको तथ्यांकअनुसार पूर्वी नवलपरासी जिल्लामा पुरूषको भन्दा महिलाको संख्या बढी देखिएको छ । पुरूषभन्दा २२ हजार २ सय १३ महिला बढी रहेको प्रारम्भिक परिणाममा देखिएको छ । जिल्लामा हाल २ लाख १ हजार ६ सय ५९ महिला र १ लाख ७९ हजार ४४६ पुरुषको संख्या रहेको छ ।

पूर्वी नवलपरासीमा सबैभन्दा धेरै जनसंख्या कावासोतीमा ८७ हजार १ सय ७६ रहेको छ भने सबैभन्दा कम जनसंख्या पहाडी बौदीकाली गाउँपालिकामा रहेको छ ।

विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार जिल्लामा ८४ हजार ६ सय ९५ घर, ९५ हजार ३ सय ५८ परिवार रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%५%

प्रतिक्रिया दिनुहोस