२०८१ आश्विन ७, सोमबार
नयाँ
पछिला अपडेट

नरभक्षी बाघ खोज्ने प्रयास तीन सातामा पनि सफल हुन सकेन

२०७८ माघ २१, शुक्रबार प्रकाशित ( साल अघि) ९०१ पाठक संख्या

नारायण शर्मा

नवलपरासी पूर्व — नरभक्षी बाघ खोज्न गरिएको प्रयास तीन साता बितिसक्दा पनि सफल हुन सकेको छैन । बिनयी त्रिवेणी गाउँपालिकाको सर्दीगाउँ नजिकको पुच्छ्रेखोलामा बाघको आहाराका लागि राखिएको पाडो खान सिकारी हिँडेपछि आउने हुनाले बाघ नियन्त्रणमा लिन सकिएको छैन ।

बाघ नियन्त्रणका लागि राखिएको पाडो एक साताअघि खाइसकेको छ । फेरि त्यही सिनो लुछ्न आउने आसमा प्राविधिकको टोली मचान बनाएर बाघ कुरेको कुरै छ । बाघ नियन्त्रणमा खटिएका वन अधिकृत अमृत ज्ञवाली भन्छन्, ‘हामी कुरुन्जेल आउँदैन हिँडेपछि आउँछ ।’

नरभक्षी बाघ समात्न त्यहाँ राखिएको पाडो बाघले गत आइतबार राति नै मारेको हो । आफूले गरेको सिकार झम्टिन आउँदा बाघलाई बेहोस बनाएर नियन्त्रणमा लिन बसेको टोली बाघ नआएर हैरान परेको हो । तीनवटा मचान बनाएर कुर्न थालेको ६ दिन भए पनि बाघ फेला नपरेको ज्ञवालीले बताए ।

दुई साताअघि बाघले एउटा गोरु खाएको स्थानमै ९पुच्छ्रे खोलाको किनार० बाघ आए बेहोस बनाएर नियन्त्रणमा लिन सकियोस् भन्दै आहाराका लागि पाडो बाँधेर निकुञ्जका प्राविधिक रूखमा मचान बनाएर बसे पनि उनीहरू हिँडेपछि बाघ आएर पाडो खाएको थियो ।

 

‘यो चिसोमा रातभरि बस्न पनि सकिँदैन,’ ज्ञवाली भन्छन्, ‘पाडो सिकार गरेको क्षेत्रमा सिल गरेर मान्छेका आवतजावत बन्द गरिएको छ । आफैंले सिकार गरेको सिनो लुछ्न आउँछ कि भनेर डार्ट गर्ने टोली सुई हानेर बेहोस पार्ने जंगलमै खटिएको छ ।’

३ वटा हात्तीसहित २६ जनाको टोली बाघ खोज्न जंगलमै छ । त्यसमा ८ प्रहरी पनि खटिएका छन् । दाउन्ने पहाडदेखि पूर्वउत्तरको जंगलमा एक साता अघि बाघले स्थानीयको गोरु खाएको क्षेत्रमा प्राविधिकसहितको खोटी खटिएको छ । भाले बाघ हो भन्ने यकिन भए पनि नियन्त्रण गर्न नसकिएको उनले बताए । ‘आफैंले सिकार गरेको क्षेत्रवरपर बाघ बस्छ भन्ने छ । तर यो बाघ त कता लुक्छ लुक्छ हैरान पार्‍यो,’ ज्ञवाली भन्छन्, ‘मान्छेको गतिविधि थाहा पाएर नआएको हो कि भनेर मचानमै चढेर कुरेकै छौं आउँछ कि भन्ने आस छ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस