नारायण शर्मा
पूर्वी नवलपरासी — दुम्कीवास बजारमा औषधि बिक्री गर्ने पसलको अनुमति लिएर अस्पताल संचालन गर्दैआएका ३ वटा नक्कली अस्पतालमा जिल्ला प्रशासन कार्यालयले बिहीबार छापा मारेर सिल गरेको छ ।
पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेका अनुसार तीन वटा फार्मेसी (औषधि बिक्री मात्र गर्ने) पसलको अनुमति लिएर एक्सरे, प्रयोगाशाला र बिरामी भर्ना गर्ने अस्पताल नै संचालन गरेको पाइएकाले बिहीबार सिल गरिएको छ ।
घिमिरेका अनुसार दुम्कीवास बजारमा संचालित आयूष फार्मेसी, दाउन्ने फार्मेसी र पर्वत होम केयरका नामबाट संचालित पसलमा औषधि बिक्री गर्ने अनुमति लिएर धमाधम अस्पताल संचालन गरेका छन् । वर्षौंदेखि बिना इजाजत अस्पताल संचालन गरेर कानुन विपरीत काम गरेको पाइएकाले सबै पसल सिल गरिएको हो । ती औषधि बिक्रीको अनुमति मात्र लिएका ३ वटा पसलले प्रयोगशाला, एक्सरे र बिरामी भर्ना गर्ने अनुमति लिएका छैनन् ।
प्रशासनका अनुसार कसैसँग औषधि बेच्ने लाइसेन्स पनि छैन । आफैं घरबेटी चिकित्स्क बन्दै उपचार गर्दै गरेको पाइएको हो । तीनवटा पसलमा औषधि बिक्री गर्ने दक्ष जनशक्ति समेत नभएको र एक्सरे, प्रयोगशाला र बिरामी भर्ना गर्ने शैय्यासमेत राखेर आफूखुसी अस्पताल संचालन गरेको पाइएको हो ।
घिमिरेका अनुसार तीनवटै पसलमा बिहीबार अनुगमन गर्दा लाइसेन्स प्राप्त औषधि बिक्रेतासमेत भेटिएनन् । साथै चिकित्सक र प्रयोगशालामा काम गर्ने दक्ष जनशक्ति बिना नै फर्मेसीको अनुमति लिएर अस्पताल संचालन गरेको भेटिएको हो ।
अनुगमनका क्रममा ती फार्मेसीले पसलमा अनुमतिप्राप्त औषधि बिक्रेतासमेत नभएको पाएपछि सिल गरिएको घिमिरेले जानकारी दिए । ‘औषधि बिक्री गर्ने लाइसेन्स भएको मान्छे समेत छैनन् । धमाधम अस्पताल नै संचालन गरेका छन् । अस्पतालमा चिकित्सक पनि छैनन्,’ घिमिरेले भने ।तीनवटै पसल जिल्ला सदरमुकाम कावासोतीबाट ३० किलोमिटर पश्चिम बिनयी त्रिवेणी गाउँपालिका वडा नम्बर १ को दुम्किवासमा संचालित छन् । अधिकांश ग्रामीण भेगका सर्वसाधारण उपचार गर्न आउने ती नक्कली अस्पताललाई कानुनी कारबाही सुरु गरिने जिल्ला प्रशासनले जनाएको छ ।