२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

गैँडाकोटमा बन्यो भव्य एवं कलात्मक श्री हनुमान मन्दिर

२०७८ चैत्र १९, शनिबार प्रकाशित ( साल अघि) १३९० पाठक संख्या

प्रेम क्षेत्री
गैँडाकोट । नवलपरासी पूर्व गैँडाकोट ९ थुम्सी स्थित शिखरखजुराव शैलीको भव्य एवं कलात्मक श्री हनुमान मन्दिरको समुद्घाटन/लोकार्पण, मूर्तिप्राणप्रतिष्ठा तथा सा∙ विराट् ज्ञानमहायज्ञ महामहोत्सव २०७८ हुने भएको छ । शनिबार मन्दिर प्राङ्गणमा आयोजित पत्रकार सम्मेलनमा श्री हनुमान मन्दिर चक्रघाट समितिका अध्यक्ष एवं महायज्ञ मूल आयोजक समितिका संयोजक टिकाराम सापकोटाले यहि चैत्र २७ गते रामनवमीदेखी वैशाख ३ गते श्री हनुमान जयन्तीका दिनसम्म महामहोत्सवको आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले नेपालकै पहिलो, भव्य र कलात्मक मन्दिर रहेको दावी गर्दै पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्न सबैलाई सहयोगका लागि आह्वान गर्नुभयो ।

महायज्ञ मूल आयोजक समितिका महासचिव एवं मन्दिरका सहसचिव पिताम्बर सापकोटाले २०४२ सालदेखी पूजा अर्चना गरिदै आएकोमा हाल ४२ फुट लम्बाइ, ४२ फुट चौडाइ र ६३ फुट उचाइ भएको मन्दिर निर्माण गरिएको जानकारी दिनुभयो । श्री हरिहर सन्न्यास आश्रम परमानन्द–संस्कृत गुरुकुलम्, देवघाटधामका पिठाधिश १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले मन्दिरको समुद्घाटन गर्ने उहाँले जानकारी दिनुभयो । महायज्ञमा डा. बलराम ब्रह्मचारीज्यूले कथा प्रवचन गर्ने बताउनुभयो ।
मन्दिर निर्माण समितिका संयोजक ओमप्रसाद सापकोटाले शुरुवाती अवस्थामा १ करोड ५ लाखको लागतको नक्साङ्कन भएपनि पछि सबैको राय अनुरुप करिब ३ करोड लागतमा मन्दिर लगायतका संरचना निर्माण गरिएको जानकारी दिनुभयो । उहाँले अहिले ऋण नरहेको जनाउँदै मन्दिर व्यवस्थापनका केही काम बाँकी रहेको बताउनुभयो ।  पत्रकार सम्मेलनमा गँैडाकोट ९ का वडा अध्यक्ष प्रेमप्रसाद सापकोटाले यसलाई धार्मिक, आध्यात्मिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गरी गैँडाकोटको धार्मिक महत्त्वलाई प्रवर्धन गरिने बताउनुभयो । देशकै मध्ये भागमा अवस्थित यो मन्दिर पूर्व पश्चिम राजमार्ग क्षेत्रमा पर्ने एकमात्र भव्य हुनमान मन्दिर रहेकोले यो पर्यटकीय गन्तव्य रहेको उहाँको भनाई थियो ।

मन्दिरका संरक्षक पवनकुमार अग्रवालले मन्दिरमा एक करोड बराबरको अक्षयकोष निर्माण गर्नुपर्नेमा जोड दिदैँ मसिक रुपमा रकम उपलब्ध गराउने बताउनुभयो । मन्दिरका उपाध्यक्ष बालुराम कुमालले स्वागत मन्तव्य व्यक्त गर्दै मन्दिर परिसरमा १०० जना सम्म अट्ने धर्मशाला निर्माण कार्य चलिरहेको बताउनुभयो ।
सङ्कटमोचन श्रीहनुमानजीको दिव्यमूर्ति, कलाकारिताले परिपूर्ण मन्दिरको बाहिरी पाटो, शिखरखजुराव शैलीको गुम्बज, काष्ठकलाका कलात्मक झ्यालढोका, रामदरबार, स–साना गुम्बज आकारका मार्वल रेलिङ, मार्वलकै आँखीझ्याल, सिँढी तथा आकर्षक विद्युत व्यवस्थापन र रङ्गरोगन यस मन्दिरका दर्शनीय पक्षहरु हुन् ।

श्री हनुमान मन्दिर समिति चक्रघाटको शुभसङ्कल्प, विभिन्न निकाय र जनसहभागितामा करिब ३ करोडको लागतमा शिखरखजुराव शैलीको मन्दिर निर्माण गरिएको हो । मन्दिर निर्माणका लागि चन्दाबाट १ करोड ६४ लाख, पटक पटक गरी गैँडाकोट नगरपालिकाबाट ३१ लाख, वडाबाट २ लाख, गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयबाट १५ लाख, प्रदेश सांसद कोषबाट ५ लाख, संघीय सांसद कोषबाट १० लाख, मारवाडी नारायणगढबाट २१ लाख, नारायणी सामुदायिक वनबाट ७ लाख लगायत विभिन्न दाताले सहयोग गरेका छन् ।

महामहोत्सवको तयारीका लागि महायज्ञ मूल समिति र विभिन्न कार्यसम्पादनका लागि २३ वटा उप समिति गठन गरिएको जनाउँदै प्रचार प्रसार समितिका संयोजक ज्ञानप्रसाद खनालले महायज्ञ सफल बनाउन सबैलाई आह्वान गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस