२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा उम्मेदवारलाई नयाँ शर्त : ‘नो पूर्जा नो भोट’

२०७८ चैत्र २२, मंगलबार प्रकाशित ( साल अघि) १३९६ पाठक संख्या

नारायण शर्मा 

देवचुलीका भूमिहीन तथा सुकुम्बासीहरूले आफ्नो बस्तीमा भोट माग्दै हिँड्ने नेताहरूलाई प्रवेश गर्न नै नदिने अडान राखेका छन् । उनीहरूले पूर्जा नपाएसम्म मतदान नगर्ने भनेका छन् ।

पूर्वी नवलपरासी — नवलपरासीको देवचुली नगरपालिकाका भूमिहीन तथा सुकुम्बासीहरूले आफूहरूले दशकौंदेखि कमाउदै आएको जग्गाको पूर्जा नपाएसम्म स्थानीय तहको निर्वाचनमा मतदान नगर्ने अडान लिएका छन् ।

निर्वाचनको मुखैमा उनीहरुले आफ्नो टोलमा भोट माग्न आउने सबै दलका नेता र उम्मेदवारलाई पहिला जग्गाधनी लालपूर्जा लिएपछि मात्रै भोट हाल्ने भन्दै दबाब दिएका छन् ।

पछिल्लो केही दिनयता उनीहरुले ‘नो पूर्जा नो भोट’ जस्ता नारा लेखिएका ब्यानर बोकेर दिनहुँ रुपमा आन्दोलन गर्दै आएका छन् । देवचुली नगरपालिका वडा नम्बर ४ र ५ का स्थानीयले पूर्जा नपाएसम्म मतदानमा भाग नलिने अडान राख्दै आएका हुन् । उनीहरुले मत माग्न आउनेहरुलाई आफ्नो वडामा प्रवेश गर्नसमेत दिएका छैनन् । भोट माग्न जानासाथ आफ्नो टोलमा छिर्न नदिएपछि जिल्लाका मुख्य राजनीतिक दलका नेताले सुकुम्बासी बस्तीमै गएर जग्गाधनी पूर्जा दिलाउन सबै प्रयास गर्ने सामूहिक प्रतिबद्धता जनाए पनि स्थानीयहरू विश्वस्त हुन सकेका छैनन् ।

४ दशकभन्दा बढी समयदेखि जग्गा जोतभोग गर्दै आए पनि पूर्जा नपाएका पीडितले पूर्जा नपाएसम्म दलका नेताहरूलाई भोट माग्न पनि टोलमा जान नदिने अडान लिएका छन् । स्थानीय रामबहादुर अधिकारीका अनुसार उनीहरूले पटक पटक टोलमा छिर्न नदिने जनाउ दिएका छन् ।

वडा नम्बर ४, ५, १३ र १७ वडामा दशकौंदेखि बसोबास गर्दै आएका स्थानीयले जोतभोग गर्दै आएको जग्गाको पूर्जा पाएका छैनन् । ती सबै वडामा १ हजारभन्दा बढी परिवारसँग जग्गा धनी पूर्जा छैन । वडा नम्बर ४ का भने सबै सुकुम्बासी हुन् ।

झाक्रेगाउँका स्थानीय गणेश गुरुङदे भने नेताहरुले सधैँ ढाँटेर आफूहरुलाई ठग्दै आएको दुखेसो गरे । सबै दलका नेताले पूर्जा दिने आश्वासन दिए पनि पूर्जा नपाएको उनको गुनासो छ । गुरुङले भने ‘हाम्रो माग सम्बोधन नगरेसम्म निर्वाचनमा भोट हाल्दैनौं ।’

वडा नम्बर ५ का अध्यक्ष शिवलाल सापकोटा भने वर्षौंदेखि भोगचलन गर्दै आएको जग्गाको पूर्जा चाहियो भन्ने स्थानीयको माग जायज भएको बताउँछन् । सबैजसो दलका नेताले निर्वाचनमा जग्गाधनी पूर्जा दिन्छौं भन्दै भोट मागे पनि दशकौंसम्म पूर्जा नपाएका सुकुम्बासीले संयुक्त आवाज उठाएको वर्षौं भइसकेको सापकोटा बताउँछन् । वडा नम्बर ४ मा ८ सय ५५ परिवार र वडा नम्बर ५ मा २ सय ९९ परिवार सुकुम्बासी बसोबास गर्छन् । १३ नम्बर वडाको बोटेटोलमा भने करिब २ सय परिवार सुकुम्बासी बसोबास गर्दै आएका छन् ।

यहाँका मुख्य दलका नेताहरुले भने उनीहरुले चर्चेको जग्गाको जग्गाधनी पूर्जा दिलाउन हरसम्भव प्रयास गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् । ५ दिनअघि नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका जिल्ला नेताहरुले झाक्रेमा आयोजित भेलामा बसोबास गर्ने सबैलाई चाँडो भन्दा चाँडो जग्गाधनी पूर्जा दिलाउन पहल गर्ने प्रतिबद्धता जनाएका थिए । एमाले प्रदेश सभासदस्य रोशन बहादुर गाह, नेपाली कांग्रेसका प्रदेश सभासदस्य विष्णु लामिछाने, नेता महेन्द्रध्वज जिसी सहितका दर्जनौं नेताहरुले सुकुम्बासीकै रोहवरमा आयोग बन्नासाथ पूर्जा वितरण गर्न सघाउने र त्यसको जिम्मेवारी दलहरुले लिने प्रतिबद्धता जनाएका थिए ।

स्थानीय शिवलाल क्षेत्री भने आफूहरू नेताहरूका यस्ता प्रतिबद्धतामा विश्वास नगर्ने बताउँछन् । ‘नेताले पूर्जा दिन्छौं भन्दै भोट माग्दै ढाँट्न थालेको ४० वर्ष भइसक्यो कसरी विश्वास गर्ने ?’ क्षेत्रीले भने ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस