२०८१ आश्विन ९, बुधबार
नयाँ
पछिला अपडेट

जेठ ४ गतेदेखि आवेदन दिएको १५ दिनमै लाइसेन्स ट्रायलको पालो पाइने

२०७९ बैशाख २७, मंगलबार प्रकाशित ( साल अघि) १११३ पाठक संख्या

यातायात व्यवस्था विभागले आगामी जेठ ४ गतेदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) आवेदनमा नयाँ प्रणाली लागू गर्ने भएको छ। नयाँ प्रणालीअनुसार आवेदन दिएको १५ दिनभित्र लाइसेन्स ट्रायलको पालो पाइने विभागका महानिर्देशक नमराज घिमिरेले बताए ।

यो वैशाखभित्र सन् २०२४ सम्म पालो परेका सबै आवेदनको परीक्षा सकाएर नयाँ खुलाउने तयारी  गरिएको उनको भनाइ छ ।

‘जेठ १ गतेदेखि नै नयाँ व्यवस्था लागू गर्ने हाम्रो योजना हो। सार्वजनिक बिदा पर्ने भएकाले यो व्यवस्था जेठ ४ गतेबाट लागू गर्ने तयारी छ,’ उनले सेतोपाटीसँग भने।

महानिर्देशक घिमिरेका अनुसार लाइसेन्सका लागि यसअघि परेका सबै आवेदनको लिखित र ट्रायल दुवै परीक्षा सकिन लागेको अवस्था छ।

‘उपत्यका बाहिर प्रायः सबै कार्यालयले पुराना आवेदनको परीक्षा सकिसकेका छन्। उपत्यकाभित्र पनि एकादुई कार्यालयको बाँकी छ,’ घिमिरेले भने।

गत चैतदेखि विभागले आवेदन दिनेको चाप अत्यधिक भएको भन्दै आवेदन प्रणाली बन्द गरेको छ। विभागका अनुसार आवेदन प्रणाली बन्द गर्दासम्म लाइसेन्सका लागि पाँच लाख ७२ हजारको आवेदन परेको थियो। सबै आवेदकहरूको ट्रायल यही वैशाखभित्र सकिने विभागले बताएको छ।

कतिपय कार्यालयहरूले बिहान, दिउँसो र साँझ तीन सिफ्टमा परीक्षा सञ्चालन गरेर सकाइसकेको विभागको भनाइ छ।

अब जम्मा भएको चाप सकेर विभागले नयाँ प्रणाली लागू गर्छ जुन प्रणालीमा विभागले सीमित आवेदन लिन्छ. यसपछि परेका आवेदनको परीक्षा सकाएर मात्रै नयाँ आवेदन खुला गर्छ। एक लटमा बढीमा १५ दिनसम्म पालो आउने गरी आवेदन लिने विभागको योजना छ।

‘नयाँ प्रणाली लागू भएपछि आवेदन दिएर ट्रायलका लागि दुई तीन वर्ष कुर्नु पर्दैन,’ महानिर्देशक घिमिरेले भने।

कोभिड महामारीका कारण लामो समय परीक्षा रोकिँदा पछिल्लो समय अत्यधिक चाप देखिएको छ। विभिन्न कार्यालयमार्फत यसअघि फारम भरेकाहरूको पालो आउन झन्डै दुईदेखि तीन वर्षसम्म पनि कुर्नुपर्ने अवस्था देखिएपछि विभागले यस्तो व्यवस्था गर्न लागेको हो।

देशभर २३ यातायात कार्यालय छन्। यी कार्यालयमध्ये पनि अध्यधिक चाप काठमाडौं उपत्यकाका कार्यालयमा छ। उपत्यकाका यातायात कार्यालयले दैनिक पाँच सयदेखि एक हजारसम्मको परीक्षा सञ्चालन गर्दै आएको बताएका छन्।

 

परीक्षा उत्तीर्ण गरेकाले स्मार्ट लाइसेन्स पाउन पनि लामो समय कुर्नुपर्ने बाध्यता छ। यसअघि स्मार्ट कार्ड अभावमा विभागले कारण छपाइ र वितरण पनि लामो समय बन्द गरेको थियो। कार्ड आपूर्तिमा लापरबाही र ढिलाइ हुँदा विभागले विदेश जानुपर्ने तथा अत्यावश्यक सेवाग्राहीलाई मात्रै लाइसेन्स उपलब्ध गराउँदै आएको थियो। जसले लामो समय लाखौं चालकहरू स्मार्ट लाइसेन्सबाट बञ्चित बन्नु पर्‍यो।

गत मंसिरमा फ्रान्सको सेल्प कम्पनीले ठेक्का सम्झौताअनुसार १४ लाख स्मार्ट कार्ड उपलब्ध गराएसँगै २०७७ फागुनदेखि ठप्प लाइसेन्सको छपाइ पुसदेखि सुरू भइसकेको छ। विभागले हाल दैनिक ६ हजार यस्तो कार्ड छापिरहेको जानकारी दिएको छ।

नयाँ कार्डमध्ये अब एक लाख ५० हजार छाप्न बाँकी रहेको विभागका महानिर्देशक घिमिरेले बताए। बाँकी कार्ड छापेर कतिपय वितरण गरिसकेको छ। केही वितरणको प्रक्रियामा छन्।

स्मार्टकार्डको समस्या भने अझै सुल्झिसकेको छैन। नवीकरण गर्नेहरूले पनि वर्ष दिनभन्दा बढी कुर्नु परेको छ। उनीहरू राजस्व तिरेको रसिदलाई लाइसेन्सका रूपमा प्रयोग गर्न बाध्य छन्।

आगामी जेठदेखि लाइसेन्स नवीकरण गर्नेहरूले तीन हप्ताभित्र स्मार्टकार्ड पाउने महानिर्देशक घिमिरेले दावी गरे।

‘कार्डमा पनि अब त्यस्तो धेरै समस्या हुँदैन,’ उनी भन्छन्, ‘नयाँलाई हामीले क्युआर कोडसहितको अस्थायी कार्ड वितरण गरिरहेका छौं। नवीकरण गर्नेले तीन हप्ताभित्र सहजै पाउनु हुन्छ।’

स्मार्ट लाइसेन्स छपाइमा भएको ढिलाइका कारण लाइसेन्स लिन सेवाग्राही वर्ष दिन कुर्नुपर्ने बाध्यताको विकल्पमा विभागले अस्थायी रूपमा एक वर्ष अवधिको परीक्षणकालीन लाइसेन्स दिन सुरू गरेको छ। यस्तो लाइसेन्स ट्रायल पास भएर राजस्व बुझाएकै दिन एक वर्षको म्याद राखेर वितरण भइरहेको छ।

अस्थायी कार्डले धेरै सहज पुग्ने विश्वास विभागको छ। यस्तो कार्ड एक वर्षभित्र पाँच पटकसम्म ट्राफिक नियम उल्लंघन गरी कारबाहीमा परे खारेज हुनेछ। पाँच पटकसम्म कारबाहीमा नपरे मात्रै चालकले एक वर्षपछि स्मार्ट लाइसेन्स पाउने छन्।

यस्तो कार्ड प्रतिगोटा छपाइमा पचास रूपैयाँ मात्र खर्च लाग्ने विभागका महानिर्देशक घिमिरेको भनाइ छ। उनका अनुसार विभागले यस्तो कार्ड हाल निःशुल्क दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस