काठमाडौं- सरकारले आइतबार पनि दिँदै आएको साप्ताहिक विदा हटाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुने भएको छ ।
यसअघि पेट्रोलियम पदार्थमा रहेको अर्बौं घाटा कम गर्ने भन्दै सरकारले गत जेठ १ गतेदेखि लागु हुने आइतवार पनि सार्वजनिक बिदाको निर्णय लिएको थियो।
तर सरकारको उक्त निर्णय चौतर्फी विरोध र अवज्ञा सुरु भयाे। देशका कयौँ स्थानीय तहले आइतवार बिदा दिने निर्णय अवज्ञा गर्दै विद्यालय चलाउन थालेका थिए।
हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयविरुद्ध सोमबार मात्रै सर्वोच्च अदालतमा दुई वटा रिट निवेदन दर्ता भएका थिए।
अधिवक्ताहरू रामबहादुर शाही, सन्तोष भण्डारी, तेजकुमार लोहनी र त्रिलोकबहादुर चन्दले सर्वोच्चमा रिट दर्ता गरेका थिए।
सरकारले हचुवाको भरमा दुई दिन बिदाको घोषणा गरेको भन्दै यसलाई रोक लगाउन रिटमा माग गरिएको थियो।