काठमाण्डौ। कर्णाली प्रदेशबाहेकका प्रदेशमा आज पनि ठूलो वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।वाग्मती, गण्डकी, प्रदेश-१, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा दिउँसो ठूलो पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
उहाँका अनुसार अहिले देशका धेरै ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ । काठमाण्डौमा भने झरी रोकिएको छ । तर, दिउँसो फेरि पानी पर्ने मौसमविद् मानन्धरले बताउनुभयो । देशभर मनसुन सक्रिय रहेकाले दिउँसो देशका सबैजसो ठाउँमा पानी पर्ने उहाँको भनाइ छ ।
बेलुकीपख भने ठूलो पानी नपर्ने उहाँले बताउनुभयो । मनसुनी न्यून चापीय रेखा औसतभन्दा उत्तरतिर अर्थात नेपालको दक्षिणी क्षेत्र नजिक रहेकाले लगातारजसो पानी परिरहेको मौसमविद्ले बताएका छन् ।