गोबिन्द नेपाली
कावासोती । नवलपुर जिल्लामा बन्दको प्रभाव आंशिक देखिएको छ । नेकपा माओवादी बिप्लभ समूहले अत्याधिक महँगी , भ्रष्टाचार बढेको , पेट्रोलियम पदार्थको मूल्य नघटाएको लगायतका माग राखी आज नेपाल बन्दको घोषणा गरेको थियो । बन्दका कारण नवलपुर जिल्लाका अधिकांश बजार क्षेत्र प्रभावित भएका छन् । जिल्लाको गैंडाकोट , रजहर , दलदले , कावासोती , डण्डा , चोरमारा , अरुणखोला, दुम्किबास लगायतका राजमार्ग जोडिएका मुख्य बजारमा अरु दिन जस्तो एकाबिहानै त्यति चहलपहल देखिएको छैन ।
पूर्ण रुपमा पसलहरु बन्द पनि छैनन् र अन्य दिन जस्तो पूर्ण खुल्ला पनि छैन । राजमार्गमा गुड़ने लामो दुरीका सवारी साधन भने आज देखिएका छैनन् । छोटो दुरीका गÞाडी पनि फाट्टफुट्ट मात्र देखा परेका छन् भने निजी गाडी र मोटरसाईकल भने चलेको देखिन्छ । ठाउँ ठाउँमा हुन सक्ने अराजक गतिविधि रोक्न प्रहरीले गस्ती बढ़ाएको नवलपुरका प्रहरी उपरिक्षक सन्तोष पाठकले जानकारी दिनुभयो । जिल्ला भर हालसम्म कुनै पनि अप्रिय घटना भने नघटेको प्रहरीले जनाएको छ ।
सरकार र पार्टीबीच भएको तीन बुँदे सहमति उल्लंघन गरिएको, नेता तथा कार्यकर्ताहरुमाथि पक्राउ पुर्जी जारी गरिएको, एमसिसी, महंगी र राष्ट्रघाति सन्धिरसम्झौताविरुद्ध संघर्ष सुरु गर्ने भन्दै ती पार्टीले आजको लागि नेपाल बन्दको घोषणा गरेको हो । ती पार्टीले तीन बुँदे सहमति अविलम्ब कार्यान्वयन गर्न र पक्राउ पुर्जी तत्काल खारेज गर्न माग गर्दै नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल नेकपा माओवादी समाजवादीले नेपाल बन्दको घोषणा गरेका हुन । तर नवजागरण मावि चोरमाराले भने हाम्रो नवजागरण नामको फेसबुक पेज मार्फत आज असहज परिस्थितिका कारण पठनपाठन बन्द रहनेछ भन्दै सूचित गराएको छ ।
यस्तै गैँडाकोटमा बन्दका कारण निजी तथा सामुदायिक विद्यालयहरु प्रभावित भएका छन् । प्राप्त सूचना अनुसार जिल्लाका सबैजसो संस्थागत विद्यालयहरु बन्द गरिएको छ ।संस्थागत विद्यालयहरुले विशेष कारण तथा असहज परिस्थिती उत्पन्न भएकोले आजका लागि पठनपाठन बन्द रहने कुरा जानकारी गराइएको छ भन्ने सूचना जारी गरेका छन् ।