पबित्रा पराजुली
चोरमारा । नवलपरासी पूर्व नवलपुरको मध्यविन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले निर्वाचित भएपश्चातका उपलब्धिहरु सार्वजनिक गर्नुभएको छ । नगरप्रमुख अधिकारीले पदभार ग्रहणको १०० दिनमा गरेका कार्यहरुको पत्रकार सम्मेलन मार्फत जानकारी गराउनुभएको हो । उँहाले सुरुवातमा नै सामुदायिक विद्यालयका कक्षा १ देखी कक्षा ५ सम्मका विद्याथीलाई अंग्रेजी माध्यमका पाठ्यपुस्तक निःशुल्क वितरण गर्ने , अरुणखोलामा रहेको नयाँ बेलहानी स्वास्थ्य चौकीमा बर्थिङ् सेन्टरको स्थापना गर्न आवश्यक पर्ने बजेट विनियोजन गरेको बताउनुभएको छ ।
मध्यविन्दु नगरपालिकाको नीति तथा कार्यक्रम निर्माण गर्दै गर्दा सरोकारवालाहरुको राय सुझाव संकलन गरी प्रत्येक वस्ती टोलमा आवश्यक कार्यक्रमहरु एवम माग संकलन गरिएको बताउनुभयो । नगरले आ.व ७९,८० का लागी एक अरव चार करोड ६ लाख ८३ हजारको बजेट पास गरिएको बताउँदै प्रहरी ऐन , खेलकुद विकास,विषयगत समिति , आप्रवासन समबन्धी कार्यविधि ,टोल विकास संस्था परिचालन , नगर अस्पतालको स्थापना र सञ्चालन गरिने बताउनुभयो ।
नगरपालिकाले नागरिक सेवा केन्द्रको स्थापना गरी नागरिकलाई सहज सेवा दिएको पनि नगरप्रमुख अधिकारीले बताउनुभयो । नगरपालिकाले ज्येष्ठ नागरिकलाई प्रत्येक महिना घरघरमै पुगेर स्वास्थ्य जाचँ गरिएको बताउनुभयो । नगरपालिकाले अवैध रुपमा उत्खन्न गरिएको बस्तुलाई प्रहरीको रोहबरमा नियन्त्रण गर्ने कार्य जारी रहेको बताउनुभयो । शिक्षा , स्वास्थ्य , रोजगारको विषयमा आफु गम्भीर भएको बताउनुभयो । विदेशको अनुभव स्वदेशको पौरख नीति अनुरुप रिटर्नी युवा र नगरपालिकाबीच युवा उद्घमशिलताको गोष्ठी सम्पन्न गरिएको बताउनुभयो ।
मध्यविन्दु नगरपालिकालाई खादामुक्त नगरपालिका घोषणा गरेको नगरप्रमुख अधिकारीले पत्रकार सम्मेलन मार्फत सबैलाई जानकारी गराउनुभयो । अब कुनै पनि कार्यक्रममा खादाको प्रयोग नगरी फुलमालाको प्रयोग गरी संस्कृतिको संरक्षण गर्न अपिल समेत गर्नुभएको छ । नगरपालिकालाई सरसफाईयुक्त नगरपालिका बनाउनका निमित्त सबै वडामा कार्यक्रम गरिने बताउनुभयो ।
नगरप्रमुख अधिकारीले आफु निर्वाचित भएको १०० दिनमा विशेषत शिक्षा , स्वास्थ्य , सरसफाई , प्रहरीसगँको साझेदारी , गाउँटोलमा समिति गठन गर्ने प्रकियालाई समेटेको बताउनुभयो । अधिकारीले नगर शैक्षिक सुधार कार्यक्रम , घर पहिलो पाठशालाको रुपमा असल अभिभावक , मेरो गुरु दक्ष गरु , हरित विद्यालय , मध्यविन्दु उच्च शिक्षा छात्रवृति , एक वडा एक व्यवस्थित खेलमैदान , घरमा शुन्य सुत्केरी , एक सामुदायिक वन एक बनबाटिका लगायत थुप्रै कार्यक्रमहरु चरणमा रहेको बताउनुभयो ।
आ.व. ७९,८० को बजेट अन्तगर्तको गौरवको आयोजना मा स्वीकृत भएका नगर गौरवको आयोजना अन्तर्गत अरुणखोला र गिरुवारी ,खोलाको करिडोर निर्माण , सेहरी भुताहा , नन्दपुर , रतनपुर हुँदै बह्रमस्थानसम्म पर्यटकीय मार्ग निर्माण , शहिद हरि स्मृति तम्सरीया मैनाघाट , हुप्सेकोट , झिरुवास, पाल्पा हुँदै पोखरा जोड्ने सडक , मध्यविन्दु ७ मा बहुद्देशीय भवन निर्माण , अरुणखोला रातामाटा हुँदै द्धारी सडक , मध्यविन्दु नगर अस्पताल , मध्यविन्दु चक्रपथ , मध्यविन्दु स्तम्भ रहेको बताउनुभयो । पत्रकार सम्मेलनमा जिल्ला भरीका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।