चोरमारा – डेंगूको अत्यधिक जोखीममा रहेको मध्यविन्दु नगरपालिकामा सम्भावित् डेंगूको रोकथामका लागि लामखुट्टे नियन्त्रण कार्यक्रम सम्पन्न भएको छ ।
डेंगु रोगको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि पानी राख्ने भाडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई खोजतलास गरी नष्ट गर्ने कार्यक्रम मध्यविन्दु नगरपालिका ७ को वडा कार्यालय र नेपाल प्रहरीको संयुक्त आयोजनामा सञ्चालन गरिएको थियोे ।
साउन महिना देखि कार्तिकसम्मको समय डेंगूको जोखिम बढी हुने समय हो । यो समयमा डेंगू फैलाउने लामखुट्टेको सक्रियता बढी हुने भएकाले डेंगूको जोखिम पनि बढ्ने गर्दछ । त्यसैले वाडामा सम्भावित् डेंगूको रोकथामका लागि लामखुट्टेको बासस्थान खोजी गरि लार्भा नष्ट गर्ने अभियान थालिएको हो ।
शुक्रबार कार्यक्रम गर्दै बजार क्षेत्रमा पानी राख्ने भाडा, ट्यांकी, खाल्डाखुल्डी पुर्ने र पानीमा लामखुट्टेको बसाई रहेको–नरहेको हेरेर खोजतलास गरी नष्ट गर्ने कार्यक्रम सञ्चालन गरिएको वडाअध्यक्ष कर्णबहादुर मल्लले जानकारी दिनुभयो ।
सम्भावित डैंगुको नियन्त्रणका लागि थप जनचेतना अभिवृद्धि गरिने वडानम्बर ७ का वडाध्यक्ष मल्लको भनाई छ । अहिलेको मौसममा ज्वरो आउने, हाड जोर्नी दुख्ने, टाउको दुख्ने लगायतका लक्षणहरु देखिएमा डेंगुको संक्रमण भएको पनि हुनसक्दछ ।
डेंगुको समयमै उपचार भएमा यसको जोखिम धेरै हुदैन, उपचारमा लापरवाही भएमा भने ज्यान समेत जानसक्ने हुन्छ । त्यसैले डेंगुका लक्षण देखिने बित्तिकै स्वास्थ्य संस्थामा जाँच गराइहाल्न स्वास्थ्यकर्मीहरुको सुझाव छ ।