कावासोती । राप्रपाले चुनाव केन्द्रित गतिविधिलाई नवलपुरको क्षेत्र नं १ मा तिव्रता दिएको छ ।
देवचुली नगरपालिकाको प्रगतिनगरमा पार्टी कार्यकर्तासँग चाडपर्वको शुभकामनाका साथै छलफल कार्यक्रमको आयोजना गरी क्षेत्र नं १ मा प्रत्यक्षतर्फका तीनै जना उम्मेदवार र समानुपातिकको बन्दसूचीमा परेका समेतको उपस्थितिमा चुनावी अभियानमा सशक्त भएर लाग्न पार्टी तथा जनवर्गिय संगठनका नेता कार्यकर्तालाई उत्प्रेरित गरेको छ ।
राप्रपा देवचुलीले आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभाका उम्मेदवार मोहनीलाल भुसाल एवं प्रदेश क र ख का उम्मेद्वारद्वय क्रमस सन्तोष थापा र रामनाथ उप्रेतीले सच्चा राष्ट्रवादी पार्टी राप्रपा भएकाले बिकास र सुशासनका लागि राप्रपाका उम्मेदवारलाई मतदान गरी विजयी गराउने अभियानमा सक्रिय रहन आग्रह गरेका थिए ।
यस्तै, राप्रपा केन्द्रीय कार्य समितिका सदस्य बिन्दु पहाडी र राप्रपा नवलपुर सचिव गुणाखर काफ्लेले बहुदलपछि पटक पटक देशको बागडोर समालेका राजनैतिक दलले देश र जनतालाई धोखा दिएको यथार्थ छर्लङ्ग भएकाले धर्म रक्षा गर्दै जनता र देशको पनि सँगसँगै रक्षा गर्ने पार्टी राप्रपा नै भएकाले देशको भविश्यको निर्णय गर्ने महान् पर्व आसन्न निर्वाचनमा राप्रपाका उम्मेदवारलाई विजय गराउने अभियानमा गाउँ–टोल–घर–दैलोमा पुगेर बुझाउनु जरुरी भएको भनाई राखेका थिए ।