कावासोती । कर्जा ब्याजदर वृद्धिविरुद्ध पश्चिम नवलपरासीका उद्योगी व्यवसायीहरूले बिहीवार सदरमुकाम परासी बजार क्षेत्रका बजार र बैंक तथा वित्तीय संस्था बन्द गराएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरूले चर्को ब्याज वृद्धि गरेकाले अर्थतन्त्रलाई धराशायी बनाएको भन्दै उद्योग वाणिज्य संघ नवलपरासीको अगुवाइमा बन्द गरिएको हो ।
बैंक तथा वित्तीय संस्थाहरूबाट सर्वसाधारणले सस्तो ब्याजदरमा ऋण लिए पनि अहिले महँगो तिर्नुपर्ने बाध्यता सिर्जना भएकाले त्यसलाई घटाउनु पर्ने व्यवसायीहरूको माग छ ।
ब्याजदर बढ्दा त्यसको मार उपभोक्तालाई पर्ने भन्दै त्यसविरुद्ध सर्वसाधरणसमेत जागरुक हुनुपर्नेमा उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष गुणनिधी तिवारीले बताए । ब्याजदर नघटे अझ सशक्त आन्दोलन गर्ने व्यवसायीहरूले चेतावनी दिएका छन् ।