गैंडाकोट । गैंडाकोटमा गाई मारेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।
गैंडाकोट १४ को सालघारीमा गाई काटेको सुराकीका आधारमा प्रहरीले सोही ठाउँका ३५ वर्षिय राम बहादुर बरामलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका व्यक्तिलाई नवलपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमती लिई आवश्यक अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय गैंडाकोटका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठले जानकारी दिनुभयो ।
गत १ गते सालघारीमा गाई धारिलो हतियार प्रयोग गरी मरेको अवस्थामा छ भन्ने खबर प्राप्त हुन साथ ईलाका प्रहरी कार्यालय गैंडाकोटको टोली घटनास्थल पुगेको थियो ।
प्रहरीले घटनाका विषयमा मुचुल्का उठाएको थियो । अनुसन्धानका क्रममा राम बहादुर बरामले धारिलो हतियार (चक्कु)ले घाँटी रेटी मारेको भन्ने बुझिएकोले उनलाई १ गते नै प्रहरीले नियन्त्रणमा लिएको थियो ।
प्रहरीले भोलिपल्ट मात्रै नवलपुर जिल्ला अदालतमा उपस्थित गराएको थियो । घटनामा अन्य व्यक्तिको संलग्ना रहेरनरहेको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।