चोरमारा । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ मा गएराति बस दुर्घटना हुदाँ २३ जना घाइते भएका छन्
पूर्व–पश्चिम राजमार्गमा काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको ना ७ ख ४१५ नंको बस ‘ब्रेकफेल’ भई सडकको दाहिनेतर्फ पल्टिँदा २३ जना घाइते भएको प्रहरीले जनाएको छ ।
उक्त बसमा ५० जना सवार थिए । तीमध्ये २३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
घाइतेलाई उपचारका लागि मध्यविन्दु जिल्ला अस्पताल लगिएका र ती मध्ये १८ जना सामान्य उपचारपछि डिस्चार्ज भएका जनाइएको छ ।
बाँकीलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर सिफारिस गरिएको छ ।
बस चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।