बौदीकाली । लोकतान्त्रिक वाम गठबन्धन, नवलपुर क्षेत्र नं। २ को चुनावी प्रचारको क्रममा बौंदिकालीमा पुगेर गठबन्धनका साझा उम्मेद्वार विण्णु कुमार कार्कीले नवलपुर क्षेत्रको पहाडी क्षेत्रमा फल्ने सुन्तला, अदुवा, अम्रिसो लगायत सबै खेतीको उपयुक्त बजारको लागि पहल गरिदिने बताउनु भएको छ ।
लोकतान्त्रिक वाम गठबन्धनको बौदिकाली गाउँपालिका वडा नं: ५, ६ र ४ को शनिवार सम्पर्क कार्यलय उद्घाटनको क्रममा उक्त भनाई राख्नु भएको हो । बौदीकालीका सुन्तला, अदुवा, अम्रिसो लगायतको नगदेवालीलाई उपयुक्त बजारको व्यवस्थापन गर्ने, ६ महिनामा यहाँको माटो परिक्षण गरेर खेती लगाउने तरिका सिकाउने, युवाहरूलाई सीपमुलुक तालिम दिलाउने जस्तो प्रतिबद्धता जनाउनु भएको छ । सांसद जितेपछि हेल्लो सांसद कार्यक्रम ल्याएर जनताको सधैं नजिक हुने बताउनु भएको छ ।
सोही कार्यक्रममा नवलपुर २ क का उम्मेद्वार सोम सिर्पालीले जनजाति, दलितको अधिकारलाई अझै सुरक्षित र बलियो बनाउन आफू लडिरहने बताउनु भएको छ । यस अघि सोही क्षेत्रबाट चुनाव जित्नु भएका विण्णु लामिछानेको अधुरा सपना आफूले पुरा गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
त्यसै गरी २ “ख”का उम्मेद्वार डा गोपाल खनालले आफू यही क्षेत्रमा जन्मेर हुर्केकाले यहाँको शिक्षालयहरूमा प्राविधिक शिक्षाको लागि गठबन्धनले जोड गर्ने बताउनु भएको छ ।
कार्यलय उद्घाटन कार्यक्रममा माओवादी केन्द्रका समानुपातिक उम्मेद्वार तथा नेपाल समाजवादी पार्टी, गण्डकी प्रदेश संयोजक मोती रिजाल, ने क पा माअओवादी केन्द्रका जिल्ला सचिव सुष्मा खनाल, नेपाली काँग्रेस नवलपुर २ “क” का संयोजक रामचन्द्र भण्डारी, बौदीकाली गाउँपालिकाका पूर्व अध्यक्ष दुर्गा बहादुर राना लगायतले मन्तव्य दिनु भएको थियो ।