मध्यविन्दु । नवलपुरको मध्यविन्दु नगरपालिकामा बाम लोकतान्त्रिक गठबन्धन नवलपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) ले घरदैलो कार्यक्रम तीब्र पारेको छ । मङ्सिर ४ गते हुन गैइरहेको आम निर्वाचनलाई लक्षित गरि गठबन्धनले घरदैलो सहित चुनावी कार्यक्रम तीब्र पारेको हो।
नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी) सहितको पाँच दलिय गठबन्धनका नेता, कार्यकर्ता, शुभचिन्तकहरु आफ्नो साझा उम्मेदवार सहितको टोलीले चुनावी प्रचारप्रसार, मतदाता भेटघाट र घरदैलो अभियानलाई तिव्र पारेको छ ।
बुधबार क्षेत्र नम्बर २ अन्तर्गत मध्यविन्दु नगरपालिकाको विभिन्न वाडहरुमा गठबन्धनले चुनावी कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिनिधि सभा सदस्य उम्मेदवार बिष्णु कुमार कार्की र प्रदेश सभा सदस्य डा.गोपाल खानाल लगाएतको उपस्थिति रहेको थियो ।
चुनावी अभियानका क्रममा रहेका उम्मेदवारलाई भव्य स्वागत गरिएको थियो । कार्यक्रममा सहभागी उम्मेदवारहरुले यहाँको समृद्धि र विकासको निमित्त गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरे । उनीहरुले विगतका प्रतिबद्धता जनाएर गफ मात्र गर्ने प्रवृत्तिले जनता आजित भैसकेकाले गठबन्धनको जित सुनिश्चित रहेको समेत दाबि गरे ।
सो क्रममा यहाँका स्थानीय नागरिकले आफुले विगत लामोसमय देखि भोक्दै आएका शिक्षा , स्वास्थ्य , खानेपानी , यातायात , सिचाइ लगाएतका समस्याहरु राखेका थिए । स्थानीयका समस्या सुनेपछि उम्मेदवारहरुले आफू निर्वाचित भएपछि ती कुरालाई प्रमुख प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता जनाएका थिए ।