कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालीका वडा न: २ ले ‘एक घर–एक करेसाबारी’ कार्यक्रम शुरु गरेको छ । विषादी तरकारीको आयात रोकी आग्र्यानिक तरकारी उत्पादनमा जोड दिने उद्देश्यका साथ वडाका प्रत्येक घरमा निशुल्क रुपमा तरकालीका बिउ वितरण गरेको छ ।
यसरी निशुल्क रुपमा तरकारीका विउँ वितरण गर्दा अग्र्यानिक तरकारी घरमै उत्पादन हुँने, विषादीजन्य तरकारी सेवन गर्नुपर्ने बाध्यतामा कमी आउने वडाध्यक्ष रामभक्त अधिकारीले बताउनुभयो ।
यहाँका अनुसार मध्यविन्दु नगरपालिकाको २०७९÷०८० को स्वीकृत एक घर एक करेसाबारी कार्यक्रम अनुसार उल्लेखित प्राविधिक मापदण्ड पालना गरि करेसाबारी स्थापनाको लागि ६०,००० बराबरको तरकारीको बीउ निशुल्क वितरण भएको छ ।
वडाका प्रत्येक घरलाई करेला, काक्रा, लौका, घिरौला,फर्सि र घिउ सिमी गरी ६ प्रकारका तरकारीका बीउ निःशुल्क रूपमा वडाले उपलब्ध गराएको हो ।
वडा कार्यालयले ल्याएको योजना निकै प्रशंसायोग्य भएको स्थानीयले बताए । खेतबारीमै अग्र्यानिक खेतीबाली उत्पादन गर्नुपर्नेमा कार्यक्रमले थप प्रेरणा र सन्देशसमेत दिने स्थानीय बासीको भनाई छ ।