कावासोती । नवलपुरको गैंडाकोटबाट अवैद्य रासायनिक मल प्रहरीले बरामद गरेको छ ।
गैंडाकोट नगरपालिका- २ स्थित पुलको मुखबाट अवैध रूपमा ल्याउँदै गरेको १ सय ४ बोरा युरिया र ७६ बोरा डिएपी मल बुधबार बिहान प्रहरीले बरामद गरेको प्रहरी सूचना अधिकारी सन्तोष पाठकले जानकारी दिनुभयो।
ईलाका प्रहरी कार्यालय गैडाकोटबाट खटिएको प्रहरीले लु.१ ख ७०२४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा २ सय बोरा चामलको बिल बनाई उक्त मल ल्याउँदै गरेको अवस्थामा बरामद गरी ट्रक चालकलाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार तीन लाख ५५ हजार ६०० रुपैंया मुल्य बराबरको अबैध मल नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ । बरामद मल भन्सार कार्यालय त्रिवेणीमा बुझाइएको छ भने यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।