कोल्हुवा । कृषिजन्य उत्पादन वृद्धिका लागि मानिएको मध्यविन्दु नगरपालिका –१ अभियोनमा डन्जोर सिँचाइ आयोजनाको निर्माण कार्य सुरु भईरहेको छ ।
प्रदेश सरकारको रु १ करोड १० लाखको सहयोगमा निर्माण शुरु भएको सो आयोजनाबाट करिब २०० हेक्टर खेतीयोग्य जमीन सिञ्चित हुने आयोजनाले जनाएको छ ।
कृषिको प्रचुर सम्भावना बोकेको अभियोन, पतवारी क्षेत्रमा पानीको चरम समस्या हुने भएकाले यो आयोजना शुरु गरिएको वडाअध्यक्ष तिलक न्यौपानेले बताउनुभयो ।
आर्थिकरुपले विपन्न र सामाजिक रुपमा पिछडिएका किसानको सिँचाइ सुविधामा पहुँच बढाइ खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउन सिँचाइ आयोजना निर्माण गरि भोलिका दिन माथि ठुलो मुहान कोल्टाडीदेखि नै सिँचाइका लागि बाह्रैमासे पानी ल्याउने उद्देश्यले सो कार्य सुरु गरिएको वडाअध्यक्ष न्यौपाने बताउनुभयो।
सिचाइ नभएको कारण खेत भएपनि पानी नभएपछि किसानहरु निकै समस्यामा परेका थिए । सिँचाई कुलो जीर्ण भएको कारणले धान खेति र गहु खेति सोचे अनरुपको नभएको त्यहाँका स्थानियहरु बताउछन् । सिँचाई कुलो निर्माण कार्य सुरु भएको भन्दै किसानहरु खुसी भएका छन् ।
सिँचाइ आयोजना निर्माण भएपछि यस क्षेत्रका २०० घरधुरी लाभान्वित हुने छन् । यस बजेटबाट लगभग ६०० मिटरको पक्की कुलो निर्माण तथा मर्मत गर्ने कार्य अगाडि बढिरहेको हो । सम्झौताअनुसार आगामी २०८० असार मसान्तसम्ममा आयोजनाको सम्पूर्ण काम सकिने गरी काम भइरहेको छ ।