चोरमारा । मध्यविन्दु नगरपालिकामा विद्यार्थी संख्या कम भएको भन्दै सामुदायिक विद्यालय मर्ज गरिएको क्षेत्रमा नयाँ नीजि विद्यालय स्थापनाको प्रक्रिया अगाडी बढेको प्रति मध्यविन्दुका सामुदायिक विद्यालयहरुले ध्यानाकर्षण गराएका छन् ।
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सोमबार नगरउपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत मार्फत नगरप्रमुखलाई ज्ञापनपत्र बुझाउदै विद्यार्थी संख्या कम भएको भन्दै सामुदायिक विद्यालय मर्ज गरिएको स्थान नजिकै नीजि विद्यालयलाई स्थापनाको अनुमति प्रदान गर्न लागिएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका हुन् । मध्यविन्दु–२ को सेहरीमा रहेको जनता नारायणी प्राथमिक विद्यालयमा विद्यार्थी संख्या कम भएको भन्दै केही वर्ष अगाडी जनतासिद्ध अमर माध्यामिक विद्यालयसंग मर्ज गरिएको थियो । विगतमा विद्यार्थी संख्या कम भएको भन्दै बन्द भएको विद्यालयको केही दुरीमा नै अहिले नयाँ नीजि विद्यालय स्थापनाको लागि नगरपालिकामा निवेदन परेको छ ।
नगरभित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्र बुझाउदै नवजागरण नमूना माध्यामिक विद्यालयका प्रधानाध्यापक हरिप्रसाद देवकोटाले मध्यविन्दु नगरपालिकाको वडा नं। २, ३ र ४ का सामुदायिक विद्यालयहरुमा विद्यार्थी संख्या कम हुदै गएको र सेहरीमा विगतमा सञ्चालित विद्यालय समेत मर्ज भएको वर्तमान अवस्थामा सोही स्थान नजिकै भारतिय लगानीकर्ताहरु समेत संलग्न रहेको भनिएको नीजि गुठी मार्फत विद्यालय स्थापना गर्न लागिएको भन्ने विषयले सबै सामुदायिक विद्यालयहरुको ध्यानाकर्षण भएको बताउनुभयो । एकतर्फ सामुदायिक विद्यालयहरु विद्यार्थी नभएको भन्दै बन्द हुने र अर्को तर्फ नीजि विद्यालयहरु सोही क्षेत्रमा स्थापना गर्न लागिनुले विरोधाभाष सृजना गरेको उहाँले बताउनुभयो ।
मध्यविन्दु नगरपालिका भित्रका कुनैपनि अभिभावकहरुले विद्यालय नभएको कारण आफ्ना विद्यार्थीहरु पढ्नबाट बञ्चीत भएको भन्ने गुनासो नगरेको अवस्थामा कुनैपनि बहानामा नयाँ विद्यालयहरु स्थापना गर्न नहुने सबै सामुदायिक विद्यालयहरुको साँझा बुझाई भएको उहाँले बताउनुभयो ।ध्यानाकर्षण पत्र बुझ्दै मध्यविन्दु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरुले मध्यविन्दु नगरपालिका–२ मा नयाँ विद्यालय स्थापनाको लागि प्राप्त निवेदनको आधारमा नगर कार्यपालिकाले गठन गरेको अध्ययन समितिले नगर कार्यपालिकामा प्रतिवेदन पेश गरेको र नगर कार्यपालिकाले हाल अवस्थामा विद्यालय स्थापना गर्न आवश्यक नभएको भन्ने निर्णय समेत गरेको जानकारी गराउनुभयो ।
कार्यपालिकाको निर्णय पस्चात पनि विद्यालयका सञ्चालकहरुबाट अनुमति प्रदानको लागि विभिन्न चरणमा निवेदन र ध्यानाकर्षण गराउने कार्यहरु भइरहेको भन्दै सामुदायिक विद्यालयहरुबाट समेत ध्यानाकर्षण पत्र प्राप्त भएको हुदाँ यस सम्बन्धमा नगर प्रमुख, नगरकार्यपालिका, नगर शिक्षा समितिमा आवश्यक छलफल हुने बताउनुभयो । नगरउपप्रमुख पूर्णकला चौधरीले यस विषयमा सबै सरोकारवालाहरुको समेत धारणा संकलन गरेर आवश्यक निर्णय हुने बताउनुभयो ।
मध्यविन्दु–२ मा नीजि गुठी मार्फत प्रस्तावित लिटिल फ्लावर नामको विद्यालय स्थापनाको लागि अहिले निवेदन परेको छ । विद्यालय स्थापना अनुमति प्रदानको लागि विभिन्न स्तरबाट दवावहरु समेत सृजना भइरहेको भन्ने अपुष्ट खबरहरुको बीच नगरपालिका भित्रका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुले सो सम्बन्धमा ध्यानाकर्षण गराउनु भएको हो ।
हाल विद्यालय स्थापनाको लागि भौतिक संरचना समेत निर्माण गरिएको उक्त स्थानमा केही वर्ष अगाडी विद्यार्थी नभएको भन्दै सामुदायिक विद्यालय मर्ज गरिनु र अहिले बाह्य लगानीमा विद्यालय स्थापना हुन खोज्नुलाई विरोधाभाष पूर्ण रहेको कतिपयको बुझाई छ । मध्यविन्दु नगरपालिकाको शिक्षा ऐनमा आवश्यकता, औचित्यको आधारमा नगरपालिकाले नयाँ विद्यालय स्थापनको अनुमति प्रदान गर्न सकिने व्यवस्था रहेको छ । सोही आधारमा नगर कार्यपालिकाले यस अगाडी विद्यालय स्थापनाको विषयमा अध्ययन गर्न समिति समेत गठन गरेको थियो ।