२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा ८५ प्रतिशत धान रोपाइ सकियो, पानी कम परेका कारण रोपाइँ ढिलो

२०८० अषाढ ३१, आईतबार प्रकाशित ( साल अघि) ५१३ पाठक संख्या

कावासोती । नवलपरासी बर्दघाट सुस्ता पूर्व नवलपुरमा असार मसान्त सम्ममा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ ।

जिल्लामा ८५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो ।

असार मसान्तसम्ममा सबै क्षेत्रमा रोपाइँ ९० प्रतिशत कट्नुपर्ने भए पनि असारमा पानी कम परेका कारणसमेत रोपाइँ ढिलो भएको छ । पानी कम परेका कारण ढिलो बिऊ राखेका किसानले अब बल्ल रोपाइँको तयारी गरेको उहाँले बताउनुभयो । साउन १५ गतेसम्ममा जिल्लामा रोपाइँ सकिने उहाँको भनाई छ ।

जिल्लाको तल्लो क्षेत्र गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु, हुप्सेकोट, विनयी त्रिवेणीमा भने करिब ९० प्रतिशत धान रोपाइँ सकिएको छ । पहाडी क्षेत्रमा पर्ने बौदिकाली, बुलिङटारमा भने सरदर कम रोपाइँ भएको सूचना अधिकारी पौडेलले बताउनुभयो ।

जिल्लाको मुख्य धान उत्पादन हुने क्षेत्रमा समेत रोपाइँ अन्तिम चरणमा पुगिसकेको कृषि ज्ञान केन्द्रले जनाएको छ । किसानले रैथाने जातको भन्दा उन्नत जातको धानको बिउ रोप्ने प्रचलन बढ्दै गइरहेको छ ।

नवलपुरको तल्लो क्षेत्र गैँडाकोट, अमरापुरी, हर्कपुर, रजहर, दलदले, कावासोतीको पिठौँली, अग्यौली, मध्यविन्दु ,कोल्हुवा, क्षेत्रमा धेरै धानखेती लगाउने गरिन्छ । नवलपुरमा १८ हजार ८१६ हेक्टर क्षेत्रफलमा वर्षे धान लगाउने गरिन्छ ।

त्यस्तै देशभर ५३ प्रतिशत मात्र  धान रोपाइँ  सम्पन्न भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार गत वर्षको भन्दा १२ प्रतिशत कम धान रोपाइँ भएको हो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस