चितवन । चितवनमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
बाघमारा मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएका रत्ननगर नगरपालिका वडा नं ६ निवासी ७६ वर्षीय नवराज अधिकारीको गैंडाको आक्रमणबाट बिहिबार दिउँसो मृत्यु भएको हो ।
घाँस काट्न जंगल गएका अधिकारी रातिसम्म पनि घर नफर्किएपछि जंगलमा खोजी गर्दा आज बिहान उनको शव भेटिएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।
उनको शव घटनास्थलबाट भरतपुर अस्पतालमा पोर्टमार्टमका लागि ल्याउने तयारी छ ।
चालु आर्थिक वर्षमा चितवनमा जंगली जनावरबाट भएको यो पहिलो मानवीय क्षती हो । गत आर्थिक वर्षमा जंगली जनावरको आक्रमणबाट चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरको क्षेत्रमा ७ जनाको मृत्यु भएको थियो ।