२०८१ मंसिर १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरको त्रिवेणीधामदेखि वाल्मीकि आश्रमसम्म पैदलमार्ग बन्ने

२०८० श्रावण ६, शनिबार प्रकाशित ( साल अघि) ५३२ पाठक संख्या

नारायण शर्मा

पूर्वी नवलपरासी — गण्डकी प्रदेशको त्रिवेणीधामबाट चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रम जाने बाटो बन्ने भएको छ।

त्रिवेणीधामबाट झोलुंगे पुल तरेपछि नारायणी नदीको किनारैकिनार वाल्मीकि आश्रमसम्म पैदलमार्ग निर्माणका लागि गण्डकी प्रदेश सरकारले १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपिन्द्रेश्वर भुसालका अनुसार प्रदेश सरकारबाट प्राप्त रकमबाट त्यहाँ ढुंगा ओछ्याएर पैदलमार्ग बनाइने भएको हो ।

करिब १६ सय मिटर लामो सडक निर्माण भएपछि तीर्थालुहरु नेपाली भूभाग हुँदै सोझै वाल्मीकि आश्रम आउजाउ गर्न सक्छन् । नारायणी नदीपारिको चितवन निकुञ्जभित्र रहेको वाल्मीकि आश्रम पुग्ने नेपाली भूभागबाट सडक नभएका कारण त्यहाँ तीर्थालुहरु भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता छ ।

त्रिवेणीधाम गण्डकी प्रदेशको विनयी त्रिवेणी गाउँपालिका- ६ र ७ मा पर्दछ भने वाल्मीकि आश्रम वाग्मती प्रदेशअन्तर्गत चितवन निकुञ्जभित्र पर्दछ । चितवनको माडी नगरपालिकामा पर्ने वाल्मीकि आश्रममा नगरपालिकाको ध्यान पुगेको छैन ।

त्यहाँ हालै निर्माण सम्पन्न भएको झोलुंगे पुल तरेर नदी किनारैकिनार पैदलमार्गबाट भक्तजनहरु पुग्ने व्यवस्था मिलाएपछि वाल्मीकि आश्रममा पर्यटकीय चहलपहल हुने विश्वास छ ।

परापूर्वकालमा वाल्मीकि ऋषिले तपस्या गरेको स्थललाई वाल्मीकि आश्रम भनिन्छ । त्यहाँ सीता पाताल गएको, राम सीताका छोरा लव र कुशले अब्वमेग यज्ञ गरेको लगायतका ऐतिहासिक स्थल रहेका छन् । ट्र्याक निर्माण भए पनि नारायणी नदीमा पुल नभएकाले गाडी र मोटरसाइकल लैजान मिल्दैन, स्थानीय राम सुवेदी भन्छन्,पैदलयात्रुलाई सुविधा पुग्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%१%१%

प्रतिक्रिया दिनुहोस