चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी खुला गरिएपछि सौराहाका पर्यटन व्यवसायी उत्साहित भएका छन् । सिजनमा समेत पर्यटन नआएको भन्दै चिन्तित व्यवसायी निकुञ्जमा सफारी खुला गरेपछि पर्यटक बढ्ने भन्दै उत्साहित भएका हुन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीले सिजनमा समेत सुनसान भएको सौराहा सफारी खुला भएपछि पर्यटक आउनेमा विश्वास पलाएको बताउनुभयो ।
सौराहा आउने पर्यटकको रोजाइ निकुञ्ज घुम्ने हुन्छ । “अब सिजन लागेको छ, चाडपर्वसमेत आउन लागेको छ, त्यसैले पर्यटक आउनेमा आशावादी छौँ,” उहाँले भन्नुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्वअध्यक्ष दीपक भट्टराईले पनि सौराहामा पर्यटक आगमन वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “भदौ र असोज पर्यटकका लागि मुख्य सिजन हो तर अहिले पाँच प्रतिशत पनि पर्यटक छैनन् ।
निकुञ्जको सफारी खोलेपछि पर्यटक आउने छन् भन्ने लागेको छ । जिपसँगै डुङ्गा सफारी, जङ्गल पैदल यात्रालगायत खुला गरिएको छ ।” निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चितवन घुम्न आउने पर्यटकको पहिलो रोजाइ निकुञ्जमा जिप सफारी हुने गरेको र यसबाहेक मध्यवर्ती सामुदायिक वनमा हात्ती सफारी, निकुञ्जमा पैदल यात्रा, राप्ती नदीमा डुङ्गा सयरलगायतका पर्यटकीय गतिविधि हुने गरेको बताउनुभयो ।
“दुर्लभ एकसिङे गैँडा, बाघ पर्यटकको रोजाइमा पर्छन् । यहाँको वन्यजन्तु, प्रकृति, शान्त वातावरण हेर्नका लागि पर्यटक आउने भएकाले सफारीको महत्तव धेरै छ,” उहाँले भन्नुभयो । निकुञ्ज प्रवेश शुल्क कार्यालयले लिने भएकाले राजस्वमा समेत ठुलो प्रभाव पार्ने कार्यालयले जानकारी दिएको छ ।