२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा पाँच वर्षदेखि सामूहिक पुष्पखेती

२०८० आश्विन ३०, मंगलबार प्रकाशित ( साल अघि) ३११ पाठक संख्या

नवलपुर । नवलपुरको गैँडाकोट नगरपालिका – २ मा दिदीबहिनी किसान समूहले पाँच वर्षदेखि सामूहिक पुष्पखेती गर्दै आएको छ । स्थानीय महिला समूहमा आबद्ध भई २०७६ सालदेखि सामूहिक फूलखेती गर्दै आएका हुन् ।

सुरुमा ६ कठ्ठा जग्गामा पुष्पखेती गरिएकोमा अहिले व्यावसायिक रूपमा अगाडि बढाउँदै १५ कठ्ठा पुर्‍याइएको समूहमा आबद्ध लक्ष्मी अधिकारीले बताइन् । ‘व्यावसायिक पुष्पखेतीबाट राम्रो आम्दानी भएको छ । चार-पाँच जनाको समूह मिलेर खेती गरेका छौँ,’ उनले भनिन्, ‘बर्सेनि फूलको माग बढ्दो छ । स्थानीयस्तरदेखि जिल्ला बाहिरसमेत बिक्री गर्ने गरेका छौँ ।’

अधिकारीका अनुसार समूहले गत वर्ष डेढ लाख खर्च गरेर पाँच लाख आम्दानी गरेको थियो । ‘अरू खेती गर्नुभन्दा पुष्पखेती सहज भएकाले पनि दिदीबहिनीको यसतर्फ आर्कषण बढ्न थालेको छ,’ उनले भने ।

गैँडाकोट(२ की सरिता कार्कीले सामूहिक पुष्पखेतीबाट राम्रो आम्दानी भएको बताइन् । तिहारमा मात्र नभएर दैनिक रुपमा हुने औपचारिक कार्यक्रममा पनि सयपत्री फूलको आकर्षण बढेकाले फूलको बजार राम्रो रहेको उनको भनाइ छ । उनका अनुसार समूहले गरेको पुष्पखेतीमा कलकतिया, टेनिजवल प्रजातिका सयपत्री फूल लगाएका छन् ।

कावासोती नगरपालिका ७ की मिश्रा पराजुलीले आउँदै गरेको तिहारका लागि एक बिघा जमिनमा सयपत्री फूल लगाएकी छन् । चाडपर्वमा सयपत्री फूलको माग बढी हुने भएकाले ८ हजार बोट लगाएको उनले बताइन् । ‘फूल व्यवसायबाट राम्रो आम्दानी भएपछि दुई वर्षदेखि स्थानीय बजारको मागलाई मध्यनजर गर्दै फूल उत्पादन गर्न थालेका छौँ,’ उनले भनिन् ।

नवलपुरमा सामूहिक पुष्पखेतीतर्फ किसानको आकर्षण बढ्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । नगदेबालीका रूपमा विकास गरी कम लगानीले धेरै आम्दानी लिन सकिने हुनाले जिल्लाका विभिन्न स्थानमा सामूहिक पुष्पखेती गर्न थालिएको केन्द्रका बाली संरक्षण अधिकृत मीरा चौधरीले बताइन् ।

उनका अनुसार अहिले गैँडाकोट, देवचुली, कावासोती नगरपालिका र हुप्सेकोट गाउँपालिकामा सामूहिक पुष्पखेती गर्ने क्रम बढेको छ । ‘कृत्रिम मालामा प्रतिबन्ध लगाएपछि सामूहिक खेतीतर्फ स्थानीय उत्साहित भएको पाएका छौं,’ चौधरीले भनिन्, ‘जिल्लालाई फूलमा आत्मनिर्भर बनाउन केन्द्रमार्फत बीउ उपलब्ध गराउँदै आएका छौँ ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस