कावासोती । पाल्पाको रानीमहल तानसेन सडकखण्डको बैकुण्ठ भिरमा आइतबार साँझ स्कारपियो जीप दुर्घटना हुँदा दशैंको मुखमा एकै परिवारका ६ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार मृत्यु हुनेहरुमा नवलपुरको देवचुली नगरपालिका वडा नं १६ रजहर का ६५ वर्षीय कृष्णबहादुर लोहनी, उनकी श्रीमती ५५ वर्षीय पार्वती लोहनी उनकी आफन्त ५५ पर्षीय चुना धिताल, बुहारी ३५ वर्षीय सविना धिताल,र नाती ११ वर्षीय सोविस लोहनी र साढे २ वर्षका अर्का एक बालक रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर जिपका चालक ३६ वर्षीय ईश्वर बहादुर लोहनी गम्भीर घाइते छन्। उनी मृतक लोहनीका छोरा हुन् ।
जीप दुर्घटना हुँदा छ जनाको घटनास्थलमै ज्यान गएको छ । दुर्घटनामा चालक गम्भीर घाइते भएका छन् । उनीहरु एकै परिवारका हुन् । घाइते ईश्वर लोहनीको जिल्ला अस्पताल पाल्पामा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरु रानीमहल अवलोकन गरेर फर्कने क्रममा तानसेन नगरपालिकाको बैकुन्ठे छाँगोमा दुर्घटनामा परेका हुन् ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाल्पाबाट कार्यालय प्रमुख प्रउ हेरम्ब शर्माको कमाण्डमा १९ जनाको टोली, नेपाली सेना र सशस्त्र प्रहरी बल समेतको संयुक्त टोली खटिई गई घटनास्थलबाट गम्भीर घाइते भएका चालकको उद्धार गरी युनाईटेड मिसन अस्पतालमा पठाइएको छ। प्रहरी निरीक्षक सन्तोष चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए ।