२०८१ मंसिर ११, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरका किसानलाई धान भित्र्याउने चटारो

२०८० कार्तिक १२, आईतबार प्रकाशित ( साल अघि) ७०५ पाठक संख्या

कावासोती । दसैँ सकिएलगत्तै किसानलाई यति बेला धान भित्र्याउने चटारो छ । नवलपुरका खेतीयोग्य जमिनमा उब्जनी भएको धान भित्र्याउन किसानलाई यतिबेला भ्याइनभ्याइ छ ।

नवलपुरमा यो वर्ष करिब १९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको र यो वर्ष विगतका वर्षको तुलनामा धान उत्पादन बढ्ने अनुमान गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बताउनुभयो ।

यो वर्ष करिब १९ हजार हेक्टरमा धान लगाइएकोमा करिब ६३ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएको प्रमुख तिवारीको भनाई छ । यो वर्ष वर्षा केही कम भए पनि समयमै पानी परेकाले धान उत्पादन राम्रो हुने र अहिलेसम्म ४५ प्रतिशत धान कृषकले थन्काइसकेका र अब १५ दिनभित्र सबै धान थन्क्याइसक्ने प्रमुख तिवारीले बताउनुभयो ।

यति बेला खेत खेतमा किसान धान थन्काउनमा व्यस्त छन् । अहिले गाउँघरमा देखिने युवा रोजगारी भन्दै भारततिर पस्न थालेपछि धान काट्न र भित्र्याउन विभिन्न मेसिनरी उपकरण प्रयोग गर्नेहरू बढेका छन् ।

खेतीबाली लगाउनदेखि भित्र्याउनका लागि मेसिनरी उपकरण प्रयोगमा आएकाले कृषि क्षेत्रको विकासमा सहज भएको अमरापुरीका कृषकले बताए । यसबाट काममा सहजता हुँदै गएको अमरापुरीका कृषक विष्णु कँडेलले बताउनुभयो। विशेष गरेर अहिले धान थन्काउने चटारो भएका बेला धान काट्ने मेसिन र धान झाँट्ने थ्रेसरको प्रयोगले आफूहरूलाई सहज भएको रजहरका कृषक तिलकबहादुर थापाले बताउनुभयो ।

त्यस्तै धान रोप्ने समयमा भन्दा पनि धान झाँट्ने समयमा थे्रसरको प्रयोग गरिने हुँदा धान कृषकलाई सहज भएको र एकै दिनमा धेरै जनाको धान थन्काउन पाएको देवचुली नगरपालिका–१३ का वडाध्यक्ष एकदेव पौडेलले बताउनुभयो ।

पूर्वी नवलपरासीमा धानको उत्पादन सरदर प्रतिहेक्टर तीन हजार केजी हुने गरेको छ भने सिफारिस भएका ८६ जातमध्ये सात थरीका मात्र रैथाने धानको यो जिल्लामा खेती हुने गरेको छ । यो वर्ष जिल्लामा मनसुली, सावित्री, अनदी, झिनुवालगायत हाइब्रिड जातका धान बढी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस