२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

कोल्हुवामा गैंडा संरक्षणका लागि फुटबल प्रतियोगिता हुँदै

२०८० पौष ८, आईतबार प्रकाशित ( महिना अघि) ६४२ पाठक संख्या

कोल्हुवा । राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता आगामी माघ २७ गते सनिवार देखी सुरु हुनेभएको छ ।

राइनो क्लवको आयोजनामा फागुन ९ गतेसम्म सञ्चालन हुने प्रतियोगिता नवलपुर जिल्लाको मध्यविन्दु–२ कोल्हुवा स्थित राइनो कप खेलमैदानमा हुनेछ । फुटबल प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको पत्रकार सम्मेलनमा उक्त कुराको जानकारी गराएको हो ।

संरक्षक संस्था नन्द–भाउजू उपभोक्ता समितिको अध्यक्ष दोमन भण्डारीले विभागीय नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरीको टिम, सशस्त्र प्रहरीको एपीएफ टोली, आयोजक नवलपुर जिल्ला सहित ‘ए’ डिभिजनका फुटबल क्लबहरु गरी १२ टिमले उपाधिका लागि प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताउनुभयो ।

प्रतियोगितामा प्रथम र दोश्रो हुने टिमले ५ देखि १० लाख र शिल्ड तथा ट्रफी पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले आकर्षक पुरस्कार पाउने बताइएको छ ।

प्रतियोगिता सम्पन्न गर्न ७० लाख खर्च लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा आफ्ना भनाई राख्नुहुँदै राष्ट्रिय खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले लामो इतिहास र विरासत बोकेको राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन हुनु गर्वको कुरा भएको बताउँदै प्रतियोगिताका लागि खेलकुद परिषद्को सहयोग रहने बताउनुभयो। उहाँले आँफू यस क्षेत्रको स्थानिय समेत रहेकाले प्रतियोगितालाई स्थानिय कै नजरले हेर्ने बताउनुभयो।

त्यस्तै मध्यबिन्दु नगरपालिकाका नगरप्रमुख भिमलाल अधिकारीले स्थानिय खेलाडी उत्पादन गर्नु आफ्नो र नगरपालिकाको प्राथमिकता रहे पनि राइनो कपको निरन्तरता र बिकासका लागि नगरपालिका सकारात्मक रहेको बताउनुभयो । उहाँले खेलकुद शिक्षासँग जोडिएको विषय भएकाले यसको विकासका लागि तिनैतहका सरकारले गम्भीर भएर सोच्नुपर्ने बताउनुभयो।

पत्रकार सम्मेलनमा आयोजक संस्था राइनो क्लवका पदाधिकारी, नन्दभाउजु मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारी, मध्यबिन्दु नगरपालिकाका उपप्रमुख पूर्णकला चौधरी, मध्यविन्दु नगरपालिका वाड न; १ का वडा अध्यक्ष तिलकराम न्यौपाने, वाड न; २ का वडा अध्यक्ष रामभक्त अधिकारी,वाड न; ३ का मानबहादुर महतो, वाड न; ४ का डिल्लिराम थारु लगायत मध्यबिन्दु नगरपालिकाका खेलप्रेमी वुद्धिजिवीहरु लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो।

कार्यक्रमको सहजीकरण राइनो क्लवका सदस्य पूण्यप्रसाद बस्यालले गर्नुभएको थियो। गैंडा संरक्षणका साथै वन, वन्यजन्तु संरक्षणमा युवाको सहभागिता बढाउन, खेलकूद र पर्यटनको समिश्रण गरी आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिँदै आएको आयोजक संस्थाले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस