एलिना केसी
देवचुली । नवलपुरमा पछिल्लो समय भलिबल खेलप्रति किशोरीहरुको आकर्षण बढ्दो छ । नवलपुर जिल्लामा हुने विभिन्न खेलकुद प्रतियोगितामा महिला खेलाडीको सहभागिता उत्साहजनक देखिएको छ ।
स्थानीय तहदेखि विद्यालयहरुले गर्ने विभिन्न प्रतियोगितामा किशोरीको सहभागिता बढ्दै गएको छ । विद्यालय र विभिन्न संघसंस्थाले किशोरीका लागि भलिबल खेलको प्रबन्ध गरेसँगै नवलपुरका किशोरीको यसप्रति आकर्षण बढेको हो । कक्षाकोठाको पढाईमा मात्रै सिमित रहने किशोरीहरु अहिले विद्यालयले संचालन गर्ने हरेक प्रतियोगितामा सहभागी हुन थालेका छन् ।
खेलमा अवसर दिए भविष्यमा राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा पुगेर देशको नाम राख्ने कावासोती नगरपालिकाकी भलिबल खेलाडी हिमा परिवारले बताएकी छिन् । उनी भन्छिन् किशोरीहरुलाइ पनि अवसर दिए खेलमा राम्रो गर्ने बताइन् ।
हिमा जस्तै देवचुलीकी अर्की खेलाडी पविना पाण्डे पनि सानै उमेर देखि भलिवल खेलमा निकै चासो लागेकाले खेल्न सुरु गरेको बताएकी छिन् । अहिले उनलाई परिवार र विद्यालयबाट पनि धेरै साथ र सहयोग रहेको बताउँछिन् । विद्यालयमा भलिबल प्रशिक्षकको व्यवस्था रहेकाले आँफू जस्ता धेरै किशोरी साथीहरु भलिबल खेलमा आबद्ध भएको पविना सुनाउँछिन् । भलिवल खेलबाट देशको नाम चिनाउने ईच्छा रहेको उनी बताउँछिन् ।
पछिल्लो समय विद्यालयस्तरबाट भलिबल प्रशिक्षण दिन थालेपछि खेलप्रति किशोरीशहरुको लगाब बढेको पाइन्छ । पहिले(पहिले भलिबल खेलका लागि महिला खेलाडी जुटाउन समस्या हुने गरेपनि पछिल्लो समय जिल्लामा भलिबलतर्फ आकर्षण बढ्दो रहेको छ ।
स्थानीय सरकारले पूर्वाधार विकासका लागि मात्रै नभई खेललाई प्राथमिकता दिन थालेपछि जिल्लामा महिला भलिबल खेलाडीहरुको उत्पादन हुने क्रम बढिरहेको जिल्ला भलिबल संघका उपाध्यक्ष चन्द्रबहादुर थापा मगरको भनाई छ ।
नेपाल सरकारले भलिबललाई राष्ट्रिय खेलको रुपमा अघि बढाएसँगै नवलपुरमा पनि यसप्रति युवायुवतीको आकर्षण बढ्दै गएको छ । किशोरीहरुलाई विभिन्न खेलमा आबद्ध गराउन उनीहरुको लागि नवलपुरका स्थानीय तहसँगै जिल्ला खेलकुद विकास समितिले पनि चासो देखाएको छ । पछिल्लो समय नवलपुरमा भलिबलका प्रतिभाशाली महिला खेलाडी उत्पादनबढ्दै गएको जिल्ला भलिबल संघले जनाएको छ।