नारायण शर्मा
कावासोती — आफूले लिएको ऋण नतिरेर उल्टै मिटर ब्याजमा ऋण लगाएको भन्दै प्रहरीलाई झुटो विवरण दिने एक युवकलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ ।
कावासोती नगरपालिका १७ बस्ने वर्ष ४६ का केशब प्रसाद अधिकारीले प्रहरीलाई गलत सूचना दिएर झुक्याएको आरोपमा पक्राउ परेका हुन् । अधिकारीले कास्की पोखरा महानगरपालिका १४ चाउथे बस्ने वर्ष ३५ की मल्लिका दाहालसँग गत जेठ १० गते ३७ लाख सापटी लिएका थिए ।
भाका पुगेपछि दाहाल पैसा लिन घरमा आउँदा अधिकारीले आफूलाई दाहालले अपहरण गरेको भन्दै झुटो विवरणसहित प्रहरीमा निबेदन दिएका थिए । भाकामा रकम नतिरेपछि मल्लिका दाहाल पैसा लिन अधिकारीको घरमा आएकी थिइन् ।
घरमा आएकी दाहालले आफूलाई अपहरण गरेको भन्दै अधिकारीले माघ २३ गते जिल्ला प्रहरी कार्यालयमा दाहाललाई कारबाही गरिपाउ भन्दै निबेदन दर्ता गराएका थिए । दाहालले आफूलाई मिटर ब्याजमा पैसा लगानी गरेको र त्यो शर्तअनुसार तिर्न नसक्दा अपहरण गरेको भन्ने आरोप लगाउँदै प्रहरीमा उजरी दिएका थिए ।
अनुसन्धानका क्रममा अनुचित ब्याज मागेको नपाइएको र अपहरणको कुनै हर्कत दाहालले नगरेको पुष्टि भएको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा दाहाललाई अधिकारीले नबिल बैंकको चेक दिएका थिए । तोकिएको समयमा चेक नसाँटिएपछि दाहाललले बैंकिङ कसुरमा चेक अनादरको कागजात बनाएकी थिइन् ।
रकम नभएको चेक दिएको र नसाँटिएपछि उल्टै मिटर ब्याजमा लगाएको आरोपमा प्रहरीले दाहालबिरुद्ध अधिकारीले दिएको मुद्धा दर्ता गरेको थियो । अनुसन्धानका क्रममा मिटर ब्याजमा रकम लगानी गरेको पुष्टि नभएको र अधिकारीलाई अपहरणको प्रयास भएको भन्ने बिबरण झुठा ठहरीएकाले पक्राउ गरेर प्रहरीलाई ढाटेको आरोपमा मुद्धा दायर गरिएको जिल्ला प्रहरीका सूचना अधिकारी बेदबहादुर पौडेलले जानकारी दिए ।
मिटर ब्याजमा रकम दिएको भन्ने कहिकतैवाट पनि पुष्टि हुने सानो आधारपनि छैन र बन्धक बनाएको पनि भेटिदैन । रकम तिर्नपर्ने बहानामा बढी बाठो बनेर प्रहरीलाई समेत झुठा बिबरण दिएको प्रमाणका आधारमा अधिकारीलाई नियन्त्रणमा लिएर कारबाही सुरु गरिएको पौडेलले बताए ।