२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

नाम मात्रका महेशपुर र त्रिवेणी भन्सार

२०८० फागुन १, मंगलबार प्रकाशित ( महिना अघि) ६७२ पाठक संख्या

नवीन पौडेल

परासी — २०७५ साउन १ मा मूल भन्सारमा परिणत पश्चिम नवलपरासीको महेशपुर भन्सार कार्यालयमा भौतिक संरचना र गोदाम व्यवस्थित हुन नसक्दा राजस्व संकलन प्रभावित भएको छ । छोटी भन्सारबाट मूल भन्सार घोषणा हुँदा उत्साहित भएका यहाँका उद्योगी व्यापारी पूर्ण रूपमा भन्सार सञ्चालनको पर्खाइमा छन् ।

भन्सारमा आएका सामान जाँचपासका लागि आवश्यक गोदाम र प्राविधिक कर्मचारी अभाव हुँदा ठूला व्यवसायीले यो नाका प्रयोग गर्दैनन् । क्वारेन्टिन जाँचको काम पनि नहुँदा निर्यात र आयात नै प्रभावित भएको छ ।

आर्थिक वर्ष ०७९/८० मा ३० करोड राजस्व संकलनको लक्ष्य राखेको यस भन्सारले मुस्किलले १० करोड रुपैयाँ संकलन गरेको थियो । चालु आर्थिक वर्षमा १६ करोड मात्र लक्ष्य निर्धारण भएको महेशपुर भन्सार कार्यालयका सूचना अधिकारी मोहराज जैसीले बताए । चालु आर्थिक वर्षको ६ महिनामा ५ करोड ७० लाख राजस्व उठेको छ । ‘भारततर्फ कस्टम अफिस ९भन्सार० छैन, जसका कारण पनि आयात र निर्यातमा समस्या छ,’ जैसीले भने, ‘भुस, कपडा, कवाडी, धान र खाद्यान्नबाहेक अन्य सामान आयात–निर्यात हुन नसक्दा राजस्व संकलन कम भएको हो ।’

भन्सारलाई आवश्यक पूर्वाधार र सञ्चालनको वातावरण बनाइदिन स्थानीय जनप्रतिनिधिले पटकपटक माग गर्दै आए पनि पूरा हुन सकेको छैन । मूल भन्सारका लागि आवश्यक भौतिक संरचना, सडक र सामान भण्डारणका लागि सुविधासम्पन्न गोदामको अभाव छ । यो नाकाबाट भुस, धान तथा खाद्यान्न आयात र निर्यात हुने गर्दथ्यो । तर अहिले क्वारेन्टिन र फलफूल जाँच गर्ने प्रविधि नहुँदा आयात ठप्प छ । बेलहिया–सुनौली नाकाजस्तै दैनिक रूपमा सञ्चालनका सडक विस्तारको काम सुरु भए पनि अन्य प्राविधिक काम नहुँदा छोटी भन्सार सरह सवारीसाधनको पास बनाउने र सुरक्षाकर्मीले बरामद गरेका सामानको लिलामी गर्ने काम बढी हुने गरेको छ । नाका पूर्ण सञ्चालनमा ल्याउन संरचना विस्तारमा लाग्नुपर्ने पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए । ‘सडक विस्तारको काम सुरु भएको छ, भारततर्फ पनि भन्सार कार्यालय स्थापनाका लागि केन्द्र सरकारले पहल गर्न आवश्यक छ,’ उनले भने, ‘स्तरोन्नति मात्र गर्ने, कर्मचारी र भौतिक संरचना निर्माण नगर्दा पूर्ण रूपमा भन्सार सञ्चालन हुन सकेन ।
मूल भन्सार पूर्ण रूपमा सञ्चालनमा नआउँदा पश्चिम नवलपरासीमा राजस्व चुहावट र चोरीनिकासी बढेको छ । महेशपुर–परासी–सुनवल सडक चार लेनको विस्तार भइरहेकाले अब क्वारेन्टिन र भारततर्फ कस्टम स्थापनातर्फ दबाब दिनुपर्ने उद्योग वाणिज्य संघ, नवलपरासीका वरिष्ठ उपाध्यक्ष गिरिराज पाण्डेले बताए ।

सरकारले महेशपुर भन्सारलाई मूल भन्सारका रूपमा सञ्चालन गरेपछि जिल्लामा नयाँ उद्योग सञ्चालनमा आए पनि अहिलेसम्म कच्चापदार्थ आयातका लागि रूपन्देहीको नाकाको भर पर्नुपरेको छ । । भैरहवा भन्सारले मात्र यस क्षेत्रमा आयात र निर्यात हुने वस्तुको भार थेग्न नसक्ने र नयाँ नाकाबाट सहज हुने भन्दै भुमही–भैरहवाको बाइपास सडक वरपर उद्योग सञ्चालन भइरहेका छन् । तर मूल भन्सारमा आवश्यक भौतिक संरचना तयार नहुँदा लगानीकर्ता निराश छन् ।

त्रिवेणीमा पनि उस्तै

०७६ मा मूल भन्सारमा स्तरोन्नति गरिएको गण्डकी प्रदेशको एक मात्र भारतीय नाका पूर्वी नवलपरासीको त्रिवेणी छोटी भन्सार चार वर्षसम्म सञ्चालनमा आउन सकेको छैन । यस भन्सारबाट भारतीय सवारीलाई नेपाल प्रवेश गर्दा जारी गर्नुपर्ने सवारी पुर्जीबाहेक अन्य काम हुँदैन ।

भारत सरकारले पारिपट्टि वाल्मीकिमा भन्सार कार्यालय स्थापना गरेको छ । तर नेपालतर्फ जनशक्ति र भौतिक संरचना नहुँदा आयात–निर्यात शून्य छ । ११ जनाको दरबन्दी भएको यस कार्यालयमा आयात–निर्यात नहुने भएपछि कर्मचारी पनि बस्न मान्दैनन् ।

क्वारेन्टिन र भौतिक संरचनाको अभावमा आयात–निर्यात हुन नसकेको त्रिवेणी भन्सार कार्यालय प्रमुख विमलकुमार श्रेष्ठले जनाए । अहिले पनि सवारी पासबाहेक अन्य काम भएको छैन । सुरक्षाकर्मीले बरामद गरेका सामानको लिलामीबाट सामान्य राजस्व संकलन हुने गरेको छ । कान्तिपुरबाट

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस