२०८१ मंसिर १०, सोमबार
नयाँ
पछिला अपडेट

नवलपुरमा हिउँदे धान लगाउने चटारो

२०८० फागुन २, बुधबार प्रकाशित ( महिना अघि) ४७७ पाठक संख्या

कावासोती । पूर्वी नवलपरासीमा हिउँदे चैते धान रोपाइँ सुरु भएको छ । नवलपुरमा सिँचाइको सुविधा पर्याप्त भएको र सिमसार क्षेत्रका किसान अहिले हिउँदे चैते धान लगाउन व्यस्त रहेका छन् । जिल्लाका आठ स्थानीय तहमध्ये हुप्सेकोट गाउँपालिकाबाहेक अन्यमा हिउँदे धान गरिँदै आएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

जिल्लाको कावासोती नगरपालिका–८ देखि १७, गैँडाकोट–१०, ११, १२ र १३, देवचुली–१७, मध्यबिन्दु नगरपालिका–२ र ३,  विनयीत्रिवेणी गाउँपालिका–१ र ५, बुलिङटार गाउँपालिका–३ र बौदीकाली गाउँपालिका–४ मा हिउँदे धान खेती हुने गरेको छ । चैते धान हुने क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर एकले अर्कालाई सघाउँदै चैते धान लगाउने चटारो रहेको छ ।

गैँडाकोट–११ का किसान बाबुराम पराजुली अहिले हिउँदे चैते धान लगाउन व्यस्त हुनुहुन्छ । २०७६ सालबाट पकेट क्षेत्र १८ बिघाबाट सुरु गरी मुकुन्दसेन कृषक समूह दर्ता गरी अहिले ब्लकमा तीन सय बिघा क्षेत्रफलमा समूह मिलेर धान खेती गर्दै आएको पराजुली बताउनुहुन्छ । उहाँले आफूले मात्र एक बिघा क्षेत्रफलमा चैते धान लगाउँदै आएको बताउनुहुन्छ । बर्खे धानभन्दा हिउँदे धान दोब्बर हुने हुनाले यसतर्फ किसान लागेको उहाँले बताउनु्भयो ।

यस्तै गैँडाकोटका अर्का किसान निर्मल न्यौपानेले पनि एक बिघामा चैते धान लगाउने गरेको बताउनुभयो । गत वर्ष ४२ क्विन्टल धान उत्पादन गरेका न्यौपानेले घरमा खाने राखेर अरू बिक्री गरेको बताउनुभयो । चैते धान बिक्री गरेर एक सिजनमा एकरदुई लाख रुपियाँ आम्दानी हुने गरेको न्यौपानेको भनाइ छ । उहाँले चैते–५, हर्दिनाथ–१ र स्थानीय जातका धान लगाएको र बजारीकरणमा समस्या नभएको बताउनुभयो । चैते धानको राम्रो उत्पादन हुने र धानको पकेट क्षेत्र लागू भएको स्थानमा सिँचाइ सुविधा भएकाले धान लगाउन सहज भएको किसान न्यौपानेले बताउनुभयो ।

कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने भएकाले पनि चैते धानतर्फ किसान आकर्षण बढेको बताउनुभयो । उहाँले भन्नुभयो “गत वर्ष जिल्लामा एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो । अहिले एक हजार ३२५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइँदै छ । अहिले ११५ हेक्टर क्षेत्रफल विस्तार भएको छ ।”

जिल्लामा गत वर्ष एक हजार २१० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा छ हजार १२३ मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो । बर्खे धान प्रतिहेक्टर तीन टनभन्दा बढी उत्पादन हुनेमा चैते धान प्रतिहेक्टर तीनदेखि चार टनसम्म उत्पादन हुने गर्छ । खाद्यान्न अभावको परिपूर्तिका लागि राम्रो उपाय भएकाले नवलपरासीमा चैते धान क्रमशः विस्तार हुँदै गरेको कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख तिवारीले बताउनुुभयो । “चैते धानमा रोग तथा किरा पनि नलाग्ने भएकाले पनि किसानका लागि चैते धान खेती राम्रो मानिन्छ । केन्द्रले चैते धान उत्पादन हुने, सिँचाइ सुविधा पुगेको तथा पर्याप्त क्षेत्रफल भएको स्थानमा धानको पकेट क्षेत्र निर्माण गर्दै चैते धानको उत्पादनमा किसानलाई प्रोत्साहन गर्दै आइरहेको उहाँको भनाइ छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस