कावासोती । नवलपुरमा हिजो साँझ दुई छुट्टाछुट्टै दुर्घटनामा दुई जना घाइते भएका छन्।
पहिलो घटना बिनयी त्रिवेणी – २ कुमालटारमा भएको हो। ४१ वर्षीया धनमाया सारु छिमेकीसँग च्याउ टिपेर फर्कने क्रममा भिरबाट लडेर घाइते भइन् । उनलाई मध्यबिन्दु जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि सरकारी अस्पताल भरतपुर चितवन पठाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
दोस्रो घटना बुलिङटार ६ घाँसीस्थित भित्री सडक खण्डमा भएको हो । कौडेबाट घाँसीतर्फ आउँदै गरेको बलेरो जिपबाट ओर्लने क्रममा १६ वर्षीय दीपक नेपाली लडेर घाइते भए। उनलाई नारायणी सामुदायिक अस्पताल चितवनमा उपचारका लागि पठाइएको छ । प्रहरीले दुबै घटनाको अनुसन्धान गरिरहेको छ ।