चोरमारा । असोज ११ र १२ गते आएको बाढीले मध्यविन्दु नगरपालिकामा करिब २ करोड २२ लाख रुपैयाँ बराबरको कृषि बालीमा क्षति पुर्याएको छ ।
बाढीले कागती, तरकारी, र फलफूल जस्ता बालीहरूमा ठूलो क्षति पुर्याएको छ, जसले स्थानीय किसानहरूलाई ठूलो आर्थिक नोक्सान भएको हो।
बाढीले करिब पाँचसय हेक्टर ३६ क्षेत्रफल कृषि बालीमा क्षति पुगेको छ । कागतीमा ६ कठ्ठामा ६० हजारको क्षति पुगेको छ । तरकारी र फलफूलमा ८ दशमलव ५ हेक्टर क्षति पुगेको छ । यसबाट दुई करोड, २२ लाख ४८ रकम बराबरको अन्नबाली, एघार लाख तीन हजार ६४० तरकारीमा क्षति पुगेको मध्यविन्दु नगरपालिका सहायक प्रशासकीय अधिकृत विकास नरसिंह राणाले जानकारी दिनुभयो ।
यस बाढीले नगरपालिकाका विभिन्न वडाहरूमा घरधुरी र पशुपन्छीमा पनि व्यापक क्षति पुर्याएको छ, जसले गर्दा स्थानीय बासिन्दाहरूलाई ठूलो कठिनाइको सामना गर्नुपरेको थियोे ।
नगरपालिकाका सहायक प्रशासकीय अधिकृत विकास नरसिंह राणाका अनुसार, बाढीले २२ हजार ५७३ घरपालुवा पशुपन्छी मरेका छन्, जसबाट २० लाख ६७ हजार २ सय रुपैयाँ बराबरको क्षति भएको छ । साथै, १३.३३ हेक्टर माछा पोखरी, ५० बिघा पराल, र ७० हजार अण्डामा पनि क्षति पुगेको छ ।
त्यस्तै बाढीले मध्यविन्दु नगरपालिकामा १ सय घरधुरी र दुई विद्यालयमा पूर्णरुपमा क्षति गरेको प्रतिवेदनमा उल्लेख छ । नगरप्रमुख भीमलाल अधिकारीका अनुसार, बाढीले नगरपालिकाका २, ३, ४, ६, १२ र १५ वडामा ४३१ घरमा क्षति पुर्याएको छ । वडा २ मा ३ सय १० घरधुरीमध्ये सेहरीमा ७० घरधुरी, वडा ६ मा १८ घरधुरी, र वडा १५ मा १२ घरधुरी पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।