२०८१ कार्तिक २, शुक्रबार
नयाँ
पछिला अपडेट

कावासोती नगरपालिकाले एमाले पार्टी कार्यालयका लागी २७ लाखको बजेट निकासा

२०८१ कार्तिक २, शुक्रबार प्रकाशित ( घण्टा अघि) १६० पाठक संख्या

नारायण शर्मा

कावासोती । कावासोती नगरपालिकाले एमालेको जिल्ला पार्टी कार्यालय भवन बनाउन २७ लाख रुपैयाँ निकासा दिएको छ । पार्टी कार्यालयको भवन निर्माणमा सरकारी पैसा निकासा हुनुलाई कोष तथा लेखा नियन्त्रण कार्यालयले चरम आर्थिक अनियमितता र दुरुपयोग भनेको छ ।

कावासोती नगरपालिका वडा नम्बर ३ स्थित ४,ख कित्ता नम्बर १०४८ र १०४९ मा एक निजी बोर्डिङ स्कुलका सञ्चालकले दिएको १ कठ्ठा ६ धुर जग्गामा पार्टी भवन बनाउन नगरपालिकाले रकम निकासा दिएको हो । गत असोज २० गते आइतबार कावासोतीमा सम्पन्न एमाले जिल्ला कमिटीको बैठकको निर्णय नम्बर ८ मा भवनकालागि कावासोती नगरपालिकावाट रकम निकासा भएको उल्लेख छ । बैठकमा प्रतिनिधिसभाका पूर्वसदस्य एवं एमाले नेता तिलक महतको उपस्थितीमा भएको हो ।

नगरपालिकाले भवन निर्माणका लागि ३० लाख रकम बिनियोजन गरिएकोमा बिल भर्पाई मिलाउँदा २७ लाख मात्र निकासा दिइएको नगरपालिकाका एक कर्मचारीले जानकारी दिए ।

भवन निर्माण सम्पन्न भइसकेपछि नगरपालिकाले दसैंअघि रकम भुक्तानी दिएको हो । एमाले जिल्ला सचिव भिम कँडेलले मदन भण्डारी स्मृति संस्थाको नाममा २७ लाख रकम निकासा गरेर पार्टी कार्यालयको भवनमा लगानी गरेको जानकारी दिए । सोझै पार्टी कार्यालयलाई दिन नमिल्ने भएकाले त्यसरी रकम निकासा गरिएको उनले सुनाए । नगरपालिकाकी उपमेयर फूलकुमारी थनेतले पनि उक्त रकम मदन भण्डारी स्मृति संस्थाका लागि दिइएको बताइन् ।

कावासोती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज पौडेल यसबारे पटक-पटक सम्पर्क गर्दा पनि उनि सम्पर्कमा आउन चाहेनन् । पूर्वी नवलपरासीको सदरमुकाम रहेको कावासोती नगरपालिकामा मेयर , उपमेयरसहित स्पष्ट बहुमत एमालेको रहेको छ । यहाँ अघिल्लो पटक पनि एमालेले स्पष्ट बहुमत ल्याएको थियो । यो समाचार कान्तिपुरबाट साभार गरिएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%३%१%

प्रतिक्रिया दिनुहोस